सामाजिक सद्भाव कायम राख्दै मनाइयो ईद

२०८० चैत्र २९, बिहीबार १९:४९

वीरगन्ज (पर्सा), २९ चैत(रासस) ।

पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै पर्व मनाएका हुन् ।
वीरगन्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँको सङ्ख्यामा रहेका मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगन्जका अन्य समुदायका धर्मावलम्बीले पनि एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

वीरगन्ज–२ छपकैयाँका शाहिद मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए । “वीरगन्जमा हिन्दु, मुस्लिम, शिखलगायतका समुदायका मानिस एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आइरहेका छौँ,” उनले भने, “मेरा हिन्दु तथा शिख समुदायका साथीहरूले ईदको शुभकामना दिनुका साथसाथै आफ्नो चाडपर्वमा पनि बोलाउनुहुन्छ । हामी पनि ईदमा उहाँहरूलाई बोलाउँछौँ ।”

दुवै समुदायबीच शुभकामना साटासाट गर्दै आइरहेको सिद्धिकीको भनाइ छ । जुनसुकै चाडपर्वलाई पनि आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्नेगरी अघि बढाउन जरुरी रहेकामा उनले जोड दिए ।

वीरगन्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उमेर समूहका मुस्लिम समुदायका मानिसको उपस्थिति थियो । साथै फरक शारीरिक क्षमताका तथा अशक्तहरू पनि नमाज गर्नका लागि ईदगाह तथा मस्जिदमा सहभागी भएका थिए ।

“हामीले ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा (व्रत) बस्यौँ । अब नमाज पढेर रोजा तोडेका छौ,ँ” मुस्लिम समुदायका अगुवा सहवीर अहमदले भने, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरू मिठो परिकार खाने र खुवाउने परम्परा रहेको छ ।” उनका अनुसार मुस्लिम समुदायले आफ्नो आम्दानीको दुई दशमलव पाँच प्रतिशत रकम दुःखी तथा अनाथलाई सहयोग गर्ने परम्परा पनि रहिआएको छ ।

ईदका दिन मुस्लिम समुदायका व्रतालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारका तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान्)सँग आशीर्वाद लिने गर्दछन् ।

वीरगन्जमा करिब तीस हजारको हाराहारीमा मुस्लिम रहेको अनुमान गरिएको छ । वीरगन्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवा अर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना साटासाट गरी यो पर्व मनाएका छन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH