नेपाल–भारत सम्बन्ध हिमालभन्दा उँचो र समुद्रभन्दा गहिरो छ : मुख्यमन्त्री यादव

२०८१ बैशाख १, शनिबार १८:२५

टोलपडोस समाचारदाता
जनकपुरधाम, १ वैशाख ।
भारतीय राजदूतावास काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले शनिबार जनकपुरधाममा जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ ।

नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरिएको हो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।

जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरिएको महोत्सवबाट दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परा झल्काउने तथा भारत र नेपालका साझा सांस्कृतिक सम्पदालाई प्रवद्र्धन गर्ने उद्देश्य लिइएको छ ।

महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री यादवले नेपाल र भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उँचो र समुद्रभन्दा पनि गहिरो रहेको बताए । दुवै देशबीच सरकारहरूभन्दा पनि जनता र जनताका बीच सम्बन्ध रहेको उल्लेख गर्दै उनले त्यस कुराको पुष्टि रामलालाको प्राणप्रतिष्ठाका बेला दुवै देशमा देखिएको हर्षोल्लास भएको औंल्याए ।

महोत्सवको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा व्याख्यान प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साडीका साथै भारत र नेपालका किल्लाहरूको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल पनि समावेश थियो ।

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति दिएका थिए ।

दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।

भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत डिएस मिणाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहसहित मधेश प्रदेशका प्रदेशसभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो साथै दर्शकहरुको बाक्लो उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH