उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिक र पूर्णअशक्त अपाङ्ता भएकालाई कम्बल
टोलपडोस समाचारदाता
जनकपुरधाम, २ चैत ।
चैतमा घ्यु बेचेर पाखी किन्ने उखान धनुषाका स्थानीय तहहरूका लागि चरितार्थ हुँदै आएको छ । कुनबेला के गर्ने र के गर्दा अर्थपूर्ण वा उपलब्धिमूलक हुने हेक्का नराख्ने स्थानीय तहको हाँसउठ्दो हेलचेक्रयाइँ धनुषामा देखिएको छ ।
जिल्लाको मिथिलाबिहारी नगरपालिका कार्यालयले ज्येष्ठ नागरिक र पूर्णअशक्त अपाङ्ता भएकाहरूका लागि वैशाख महिनामा कम्बल वितरण सुरु गरेको छ । टन्टलापुर घाम लाग्ने र निथ्रुक्क भिज्ने गर्मी भएका बेलामा पालिका कार्यालयले नगरभित्रका १० वडाका लक्षित व्यक्तिहरूलाई तीन हजार तीन सय कम्बल वितरण गर्ने कार्य नयाँ वर्षको अवसर पारेर शनिबारबाट सुरु गरेको हो ।
असह्य गर्मी हुने बेलामा गर्मीबाट जोगिने उपायका बारेमा जनचेतना जगाउनुपर्ने र गर्मीबाट राहतका लागि पिउने पानीदेखि अन्य कुराको प्रबन्धन गर्नुपर्नेमा कम्बल बाँड्ने नगरपालिका कार्यालयको कार्यप्रति स्थानीय राजनीतिकर्मीहरूले कडा आपत्ति जनाएका छन् ।
जनता समाजवादी पार्टी(जसपा) नेपालकी केन्द्रीय सदस्य सीता यादवले वैशाखको पहिलो सातामा मिथिलाबिहारी नगरपालिकाका जनताका लागि कम्बल वितरणले भ्रष्टाचार मौलाएको प्रस्टिएको आरोप लगाएकी छिन् । उनले आफ्नो फेसबुक भित्तामा लेख्दै चित्ताका लागि दाउरा कि भोट दिनुस् भनेर घरघरमा पुगी सहानुभूतिको मत बटुलेका मेयर राजेन्द्रप्रसाद यादवलाई ‘अन्धो देशको बहिरो राजा’ को संज्ञा दिएकी छिन् ।
उनले वैशाखमा र त्यसमा पनि आसपासेलाई कम्बल बाँड्ने काम लाजमर्दो रहेको बताइन् ।
सीताकै भनाइमा सहमत हुँदै सामाजिक सञ्जाल प्रयोगकर्ता धर्मनाथकुमार यादवले वैशाखमा कम्बल बाँडिने काम शमसानका दाउराको कमाल भएको टिप्पणी गरेका छन् । उनले चुनावमा जस्तो दाउरा लिएर मत दिएको हो त्यस्तै काठ जनताले लिनुपर्ने व्यंग्य गर्दै करारका जागिरका कारण केही व्यक्तिले त्यस कृत्यका विरुद्ध बोल्न नसकेको औंल्याएका छन् ।
नगरपालिका कार्यालयले दसवटा वडा रहेका पालिकामा एक दिनमा दुईवटा वडा गरी पाँच दिनसम्म कम्बल बाँड्ने योजना बनाएको छ । मिथिलाबिहारी नगरपालिकाका मेयर यादवले खरिद प्रक्रियामा ढिलाइका कारण वैशाख महिनामा कम्बल बाँड्न थालिएको बताए । उनले भने, ‘कम्बलको प्रयोग सय वर्षसम्म मगर्न सकिन्छ । अहिले नभए पनि पुसमाघमा काम लागिहाल्छ नि ।’
पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले विपत् व्यवस्थापन समितिको निर्णयका आधारमा नगरपालिकाको कार्यपालिकाले निर्णय गरी टेन्डर खुलाउँदा र टेन्डर प्रक्रियामै निश्चित समय लाग्ने हुँदा कम्बल ढिलागरी प्राप्त भएकाले वैशाखमा वितरण गर्न थालिएको बताए । उनले पुसमाघमै टेन्डर भएर खरिद भइसके पनि पनि केही समयअघि जनप्रतिनिधिहरूले कार्यालयमा ताल्चा लगाएकाले कम्बल वितरणमा ढिलाइ भएको उल्लेख गरे ।
‘कात्तिकको अन्त्यतिर परिषद् भयो । पुसतिर विपत् व्यवस्थापन समितिको निर्णय र त्यसपछि टेन्डर अनि खरिद भएपछि कार्यालयमा तालाबन्दी । त्यसैले वितरण गर्न ढिलो भएको हो,’ प्रमुख प्रशासकीय अधिकृत रामदरशले भने ।
कम्बल खरिदका लागि २३ देखि २४ लाख रकम विनियोजन गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत रामदरशले २७–२८ लाखमा मुनरक नामक संस्थाले टेन्डर कबोल गरी कम्बल दिएको बताए । उनले दुई किलो दुई सय ग्राम तौल, दुई मिटर चौडाइ र दुई मिटर २० सेन्टिमिटर लम्बाइको कम्बलको कपडा असल रहेको बताए ।