सत्ता गठबन्धनले पार गर्ने दुरी पर्खँदैछौँ : लोसपा महासचिव मनिष मिश्र
पहिचानको राजनीति कठोर, कष्टप्रद र दुष्कर कार्य हो । यसमा निरन्तर लाग्नु एक किसिमको साधना नै हो । त्यसमा पनि पछिल्लो सत्ता राजनीतिक यात्राका कारण साख नै दाउमा रहेका मधेशकेन्द्रित राजनीतिक दलमा संलग्न हुनु र जिम्मेवारी निर्वहन गर्नु थप सकसपूर्ण छ । झट्ट हेर्दा नयाँ पुस्ताले राजनीतिक उचाइ प्राप्त गर्न आन्दोलनकारी दलमा सजिलो देखिए पनि अन्तरदलीय द्वन्द्व, षड्यन्त्र र छलछामले गर्दा टिकिरहन मुश्किल छ । टिक्न सके पनि आफ्ना मान्यताअनुसार पार्टी पद्धति स्थापित गर्न सकिने परिस्थिति कल्पनातीत । तर पनि मधेश राजनीतिमा अडिग, अविचलित र अविछिन्न भएर लागिरहेका एक पात्र हुन् मनिष मिश्र । जसले आफूआबद्ध दलभित्र पद्धतिका कुरा गर्छन् अनि पार्टीलाई जीवन्त, गतिशील र प्रभावी बनाउन चाहन्छन् ।
सामान्य आलोचनालाई पर राख्ने हो भने विद्यार्थी राजनीतिबाट सुरुभएको उनको यात्रा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको महासचिवसम्म पुग्नुमा उनको सैद्धान्तिक र वैचारिक स्थिरता र अतुल्य क्रियाशीलता नै हो । पार्टी महासचिव बनेपछि टोलपडोसले मिश्रसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ त्यसकै सारसंक्षेप ।
पार्टी महासचिवसम्मको यात्रा छोटो समयमै तय गर्नुभयो त ?
राजनीतिमा जिम्मेवारी पाउनुको पछाडि यात्राको दुरीले पनि अर्थ राख्छ होला । तर, कसको यात्रा कति लामो भयो भन्दा पनि कति अर्थपूर्ण र उपलब्धिमूलक भयो भन्ने कुरा महत्वपूर्ण छ । पार्टीमा नेताकार्यकर्ताको मूल्य स्थापित हुने भनेकै उनका कामले हो । मलाई लाग्छ, विद्यार्थी राजनीतिदेखि नै मैले पार्टीहितमा निरन्तर उद्देश्यपूर्ण ढंगले लागेँ । आज महासचिवजस्तो जिम्मेवारीका लागि मेरो मूल्यांकित हुनु भनेकै त्यसकै परिणाम हो । यसले पार्टीप्रति मेरो योगदानको कदर भएको छ । तर, जिम्मेवारीभन्दा पनि महत्वपूर्ण त्यसलाई कुशलतापूर्वक निर्वहन गर्नु हो । मलाई अत्यन्त धीरता र सजगतापूर्वक पदीय जिम्मेवारीमा रहेर काम गर्नुपर्छ भन्ने बोध छ । खासगरी अहिलेको राजनीतिक परिस्थितिमा कुनै पनि पार्टीलाई बलियो, विस्तारित र प्रभावशाली बनाउन युवाशक्तिले बढी ऊर्जावान्, क्रियाशील र विवेकपूर्ण ढंगले काम गर्छ भन्ने अपेक्षा हुन्छ, जसमा मलाई खरो उत्रिनु छ ।
भनिन्छ, नयाँ पुस्ताप्रति राजनीतिक दलहरूमा स्वीकारोक्तिको अभाव हुन्छ । अचम्म लाग्दैन अचानक तपाईँ महासचिव बनाइनुभयो ?
हो, नेपालका परम्परागत दलमा यस्ता समस्या छन् । तर, परिवर्तन पक्षधर राजनीतिक शक्तिमा कमैमात्र यो संकीर्णता पाइन्छ । लोसपा नेपाल विभिन्न संस्करणमा देशमा अग्रगमनका पक्षमा भएका आन्दोलनहरूको नेतृत्व गर्ने पार्टी हो । त्यसैले यसमा उमेरसमूहले खासै अर्थ राख्दैन । तपाईँलाई थाहा छ, हाम्रो पार्टी नेतृत्वमा निकै परिपक्व, अनुभवी र सुझबुझ भएका कालजयी व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरूले गर्ने मूल्यांकन निश्चित रूपमा प्रमाणिक हुन्छ । मलाई लाग्छ, पार्टी नेतृत्वको प्रारम्भिक परीक्षामा म उतीर्ण भएको छु । तर, अझ् धेरै कामहरू गर्न बाँकी छन् जसको अपेक्षा नेतृत्वले म र मजस्ता युवा पदाधिकारीसँग गरेको छ ।
तपाईँहरू संघमा प्रतिपक्ष र प्रदेशमा सत्तारुढ हुनुहुन्छ । यो निकै विरोधाभाषी उपस्थिति होइन र ?
त्यस्तो होइन । संघमा मात्र होइन लुम्बिनीमा पनि हामी प्रतिपक्षमा नै छौैँ । रह्यो कुरा मधेश प्रदेशको । मुख्यमन्त्रीजीले अहिलेसम्म नयाँ गठबन्धनअनुसारको विश्वासको मत लिने आधिकारिक मिति घोषणा गर्नुभएको छैन । घोषणा गरिसकेपछि हामीले मधेश प्रदेशको हकमा के गर्ने भन्ने विषयमा निर्णय गर्नेछौँ । हामी जुन गठबन्धनमा थियौँ, अहिलेका मुख्यमन्त्री त्यही गठबन्धनअनुसारकै हुनुहुन्छ । फरक परिस्थिति आएमा त्यस विषयमा निक्र्योलमा पुग्नेछौँ ।
संघमा सत्ता गठबन्धन फेरिने पर्खाइ होला नि ?
संसद्मा कुनै पनि दलको निर्णायक उपस्थिति नभएका बेला सत्ता गठबन्धन फेरबदल भइरहने कुरा स्वाभाविक नै हो । तर, अहिलेको गठबन्धनको जग निकै नै कमजोर छ । देशभन्दा पनि निश्चित व्यक्तिको नितान्त व्यक्तिगत स्वार्थले प्रेरित छ । त्यसैले आरम्भमै गठबन्धन दिशाहीन बनेको छ । यसले देश र जनताको भलो हुँदैन । त्यसैले अहिलेको गठबन्धनले तय गर्ने दुरी हाम्रो पर्खाइमा छ ।
पछिल्लो समयमा तपाईँहरूको पार्टी चोइटिँदै गएको भान हुन्छ नि ?
लोसपा गठन हुनेबित्तिकै हामीलाई निर्वाचनमा होमिनुपर्यो । त्यसपश्चात् हाम्रो पार्टीको केन्द्रीय समिति बनाएर अघि बढ्नुपर्ने थियो । तर, हामीभित्रकै केही नेताहरू राजपा नेपालकै हयाङ्ओभरमा हुनुहुन्थ्यो । केही नगर्ने तर हिस्सेदारीचाहिँ खोजिरहने । त्यसले गर्दा सांगठनिक संरचनाहरू बनाउन केही ढिला भयो । तपाईँले भनेझैँ बदलिँदो परिस्थितिमा पार्टी एकढिक्का भएर अगाडि बढिरहेको छ । केही समयभित्रमै पार्टीका सम्पूर्ण तह र तप्काका संरचनाहरू तथा भ्रातृसंगठनहरूले पूर्णता पाइसक्नेछन् । र, हामी चाँडै महाधिवेशनमा जानेछौँ । महाधिवेशनका लागि प्रत्येक तहका अधिवेशन पनि छिट्टै हुनेछन् ।