हिलोमाटो खेलेर मनाइयो सिरुवा पर्व

२०८१ बैशाख २, आईतवार २१:३४
तस्बिर साभार : आमसञ्चार डटकम
झापा, २ वैशाख (रासस) ।
आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइएको छ । उनीहरुले आज सामूहिक रुपमा काद (हिलो) खेलेर सिरुवा पर्व मनाएका छन् ।
नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायले मुख्य चाड सिरुवा मनाउने गर्दछन् । तीन दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन जल सिरुवा र आज कादो (हिलो) सिरुवा मनाइएको छ । सिरुवाको अन्तिम दिन सोमबार रङ दलेर मनाइने राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार राजवंशीले बताए।
उनले जिल्लाका १५ वटा पालिकामा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायत समुदायले यो पर्व मनाइरहेको जानकारी दिए। उनीहरुले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर पर्व मनाउने गरेका छन् ।
वैशाख १ गते उनीहरुले एकापसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा पर्व मनाउने गरेको उहाँको भनाइ छ । उनीहरुले आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कुल देउताको पूजापाठ गर्नेलगायत कार्य गरेका छन् ।
उहाँका अनुसार भद्रपुर नगरपालिका र विर्तामोड नगरपालिका तथा झापा, गौरीगञ्ज र कचनकवल गाउँपालिकाले सिरुवा पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । उहाँका अनुसार नयाँ वर्षको आगमनसँगै वर्षभरि शीतलता प्राप्त होस् भन्ने उद्देश्यले पानी सिरुवा, प्रकृति पूजक भूमिपुत्र भएका हिसाबले कादो सिरुवा र वर्षभरि नै सुख भ्रातृत्व प्राप्ति गर्ने उद्देश्यले रङ सिरुवा मनाइने गरिएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH