जब ‘चुपके से’ मेयर साहले चढ्न छाडे साइकल
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ वैशाख । सप्ताहन्तमा कार्यक्रमको चाप बढी भएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले शुक्रबार साइकल चढ्न छाडेका छन् ।
उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले तुलनात्मक दिनमा शुक्रबारका दिन धेरै बढी कार्यक्रम हुने गरेका र ती कार्यक्रम हुने स्थलका बीचमा दुरी हुने हुँदा साइकलयात्रा गरी ती ठाउँसम्म पुग्ने काम अव्यवहारिक भएको निष्कर्षपछि शुक्रबार साइकल चढ्न छाडेको बताए ।
उपमहानगरपालिकाले पछिल्लो कार्यपालिका गठन भएसँगै नीति तथा कार्यक्रममा वातावरणमैत्री तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले हरेक शुक्रबार साइकल चलाउन नगरवासीलाई आह्वान गरिने उल्लेख गरेको थियो । त्यसअनुसार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधि तथा कर्मचारीहरूले २०७९ साउनबाट शुक्रबारका दिन आवतजावतका लागि साइकल प्रयोग गर्ने निर्णय भएको थियो ।
जनप्रतिनिधिले साइकल चढ्ने भएपछि सोको अनुकरण नगरवासीले गर्ने त्यतिबेला विश्वास गरिएको थियो । तर, केही समयसम्म कार्यालयसम्म आउजाउ गर्न नगरप्रमुख साहसहित केही जनप्रतिनिधिले शुक्रबार साइकलगमन गरेपछि छाडेका थिए ।
नगरप्रमुख साह र उपप्रमुख किशोरी साह कार्यालय तथा व्यक्तिगत कामकाजका लागि चारपाङ्ग्रे सवारीसाधन चढ्दै आएका छन् । उनीहरूका लागि भने सरकारी बजेटबाटै साइकल खरिद गरिएको थियो । वडाध्यक्षहरूले भने उपमहानगरपालिका कार्यालयले उपलब्ध गराएको मोटरसाइकल प्रयोग गर्नेगर्छन् ।
प्रमुख साहले जनप्रतिनिधिले थरीथरीका काममा व्यस्त रहनुपर्ने हुँदा र ती कामका लागि निश्चित समयमै विभिन्न ठाउँमा पुग्नुपर्ने हुँदा शुक्रबार साइकल चढ्ने विषयलाई पछिल्ला दिनमा नीति तथा कार्यक्रमबाटै हटाइएको जनाए । उनले भने, ‘साइकल चढेर काम गर्न सम्भव भएन । त्यसैले त्यो विषयले त्यसयताका वर्षका नीति तथा कार्यक्रममा निरन्तरता पाएन ।’
जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता एवम् कर अधिकृत परमेश झाले साइकल चढ्ने विषयमा कार्यपालिकाको निर्णय नभएको र पछिल्ला वर्षमा नीति तथा कार्यक्रममा समेत त्यो विषय समावेश नभएकाले साताको एकदिन जनप्रतिनिधिले साइकल चढ्ने काम बन्द भएको बताए ।
उनले पेट्रोलडिजल महँगिएका बेला राज्यकोषमा कम भार पर्ने र वातावरण संरक्षणमा योगदान पुग्ने उद्देश्यले शुक्रबार साइकल चढ्ने सहमति भए पनि त्यसो गर्दा कामकाज नै बाधित हुने अनुभवका आधारमा निरन्तरता नदिइएको स्पस्ट पारे ।
तर, स्थानीय बासिन्दाले भने साताको एकदिन साइकल चढ्ने घोषणा सस्तो लोकप्रियता आर्जन गर्न बनाइएको असफल कार्यक्रम भएको टिप्पणी गरेका छन् । जनकपुरधामका सडक साइकलमैत्री नभएको र बहुसँख्यक जनप्रतिनिधि साइकल चढ्ने कुरामा रुचि नराख्ने हुँदा उनीहरूले ‘चुुुप के से’ साइकल चढ्न छाडेको बताए ।
शुक्रबार साइकल चढ्ने निर्णय भएका बेला नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरू घरबाट उपमहानगर कार्यालयसम्म आउँदा साइकल प्रयोग गरेको तस्बिर उत्साहका साथ सार्वजनिक गर्न लगाएका थिए ।