मधेश प्रदेश : के अल्पमतमा पर्दैछ सरोज सरकार ?
विश्वासको मतका दिन जनमतले प्रदेशसभा अवरुद्ध गर्ने
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) चौथोपटक विश्वासको मत लिँदैछन् । गत चैत ९ गते नेपाली काँग्रेस सरकारबाट बाहिरिएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन थालेका हुन् ।
संघीय सत्ता गठबन्धनबाट काँग्रेस बाहिरिएपछि मुख्यमन्त्री यादवले गत महिना सरकार पुनर्गठन गरेर नेकपा एमालेलाई सरकारमा सहभागी गराई काँग्रेसका मन्त्रीहरूलाई पदमुक्त गरेका थिए । त्यसलगत्तै काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
मुख्यमन्त्री यादवले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल र मतदानका लागि आज १ बजे मधेश प्रदेशसभा बस्दैछ । नेकपा एमालेसहितको सत्ता गठबन्धनसँग प्रदेशसभामा बहुमत छ । सत्ता गठबन्धनभित्रमै चिरा नपरे जसपा नेपालको संसदीय दलका नेता मुख्यमन्त्री यादवले सहजै विश्वासको मत लिनेछन् ।
मुख्यमन्त्री यादवले यसअघि तीनपटक विश्वासको मत लिइसकेका छन् । मुख्यमन्त्री यादवले सत्ता गठबन्धनका केन्द्रीय नेताहरूसँग परामर्श भइसकेको बताउँदै आफूले सहजै विश्वासको मत लिने बताए । उनले संघीय सत्ता गठबन्धनमा नरहेका तर प्रदेश सरकारमा सहभागी लोसपा नेपालले समेत विश्वासको मत दिनेबारे केन्द्रीय नेतृत्वसँग नै सहमति भइसकेको समेत जानकारी दिए ।
यता जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्री यादवले विश्वासको मत लिन नसक्ने दाबी गरे । उनले भने, ‘लेख्नोस्, सरोज सरकारले निरन्तरता पाउँदैन ।’ सत्ता गठबन्धनसँग बहुमत हुँदाहुँदै पनि मुख्यमन्त्रीले विश्वासको मत नपाउने कसरी भन्ने प्रश्नमा उनले विश्वासको मत विफल बनाउने रणनीतिक तयारी भइसकेको जनाए । उनले भने, ‘पर्खनोस्, परिणाम छिट्टै आउँदैछ ।’
जनमत पार्टीले भने विश्वासको मत छिनोफानो गर्न बोलाइएको संसद् अवरुद्ध गर्ने योजना बनाएको छ । सप्तरीमा कृषि विश्वविद्यालय उद्घाटनका बेला मुख्यमन्त्री यादवकै सामुने पार्टी संसदीय दलका नेता महेशलगायतमाथि भएको प्रहरी बल प्रहारलगायत विषयमा संसदीय छानबिन समिति गठन तथा सरकारको आर्थिक व्यवहारबारे गत वर्ष गठित संसदीय छानबिन समितिको प्रतिवेदन माग गर्दै जनमतले सदन अवरोध गर्ने जनाएको छ ।
सत्तारुढ दलहरूभित्रमै मुख्यमन्त्री यादवलाई लिएर असन्तुष्टि छ । सरकार पुनर्गठन र सञ्चालनलगायतका विषयमा मुख्यमन्त्री यादवले अटेर गरेको भन्दै गठबन्धनका नेकपा माओवादी केन्द्र र सरकारमा सहभागी लोसपा नेपाल क्षुब्ध छन् ।
मुख्यमन्त्रीको विश्वासको मत विफल बनाउन खोज्नेहरू नेकपा (एकीकृत समाजवादी) को निर्णयको पर्खाइमा छ । सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) ले काँग्रेससहित नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षलाई समर्थन दिएपछि त्यसको प्रभाव मधेश प्रदेशमा पर्ने उनीहरूको आकलन छ । तर, संघमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा(एकीकृत समाजवादी) का बीचमा सम्बन्ध कसिलो रहेकाले मधेश प्रदेशमा एकीकृत समाजवादीले फरक निर्णय नगर्ने मुख्यमन्त्री यादव पक्षधरहरूको भनाइ छ ।
अहिलेको अवस्थामा सत्तारुढ दल र अन्य गरी मुख्यमन्त्री यादवको पक्षमा ७१ प्रदेशसभा सदस्य रहेको देखिन्छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रमा विद्रोह र लोसपा नेपालले पक्षमा मत नदिए पनि मुख्यमन्त्रीले सामान्य बहुमत प्राप्त गर्ने सँख्या ५४ पुर्याउनेछन् । माओवादीमा विद्रोह र लोसपा नेपाल समेत मत नदिँदाको अवस्थामा एकीकृत समाजवादी वा स्वतन्त्रसहितको साना दलले विश्वासको मत नदिने निर्णय गरेमा सरोज सरकार अल्पमतमा पर्नेछ ।
‘यो असामान्य अवस्था हो । तर, राजनीतिमा जे पनि हुनसक्छ,’ लोसपा नेपालका प्रदेशसभा सदस्य उपेन्द्र महतोले भने ।
विश्वासको मत नदिने निश्चित नै रहेको नेपाली काँग्रेस ‘पर्ख र हेर’ को अवस्थामा छ । सत्तारुढ दलभित्र पहिरो गए विश्वासको मत विफल बनाउने थप प्रयासमा काँग्रेस लाग्नेछ । काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूहरू प्रतिपक्षी भएको र विश्वासको मत नदिएर प्रतिपक्षी धर्म निर्वाह गर्ने बताए ।