मधेशमा विश्वासको मत : अध्यक्ष ठाकुर जनकपुर आएपछि लोसपाको निर्णय आउने

टोलपडोस समाचारदाता
काठमाडौँ, ४ वैशाख ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा अनिर्णित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले त्यस विषयमा आजमात्र टुङ्गो लगाउने भएको छ । सो विषयमा निचोडमा पुग्न पार्टी अध्यक्ष महन्थ ठाकुर अहिले जनकपुर आउँदैछन् ।
लोसपाका वरिष्ठ उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य जितेन्द्र सोनलले अध्यक्ष ठाकुरसँग परामर्शपछि मात्र मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा निष्कर्षमा पुगिने बताए । उनले सोही विषयमा प्रदेशसभा सदस्यसँग सल्लाह गर्न अध्यक्ष यादव आज जनकपुर आउन थालेको जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष सोनलले भने, ‘विश्वासको मतका विषयमा कुनै पनि तहमा निर्णय भएको छैन । हामी अध्यक्षजीलाई लिन जनकपुर विमानस्थल जाँदैछौँ । उहाँ आएपछि यसबारेमा कुरा हुनेछ ।’
एक सय सात सदस्यीय प्रदेशसभामा लोसपाको नौ सदस्य छन् । जसमा संसदीय दलका नेता अभिराम शर्मा भने कानुनी जटिलताका कारण प्रदेशसभा बैठकमा अनुपस्थित रहने प्रायः निश्चित नै छ । लोसपाले विश्वासको मतका विपक्षमा निर्णय गरे सत्तारुढ दलबाट विद्रोह हुनसक्ने जानकारहरू बताउँछन् ।
लोसपा केन्द्रीय कार्यालय सचिव प्रदीप पाठकले जनकपुरधामका लागि अध्यक्ष ठाकुर विमानबाट प्रस्थान गरिसकेको जानकारी दिए । मुख्यमन्त्री यादवले विश्वासको मत लिनेगरी मंगलबार अपराह्न १ बजे प्रदेशसभा बस्ने कार्यक्रम छ ।
मुख्यमन्त्री यादवले भने आफूलाई लोसपाले विश्वासको मत दिने कुराको टुङ्गो लागिसकेको जानकारी दिए । उनले अध्यक्ष ठाकुरसँग त्यस विषयमा कुराकानी भइसकेको बताए । उनले भने, ‘ठाकुरजीले पार्टी संघमा विपक्षमा र प्रदेशमा सरकारमा रहने भन्नुभएको छ ।’
यादवनेतृत्वको सरकारमा लोसपाका तर्फबाट रमेशप्रसाद कुर्मी पटेल वन तथा वातावरण मन्त्री छन् ।
पछि थपिएको तस्बिर

मंगलबार जनकपुर विमानस्थलमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई स्वागत गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल । अध्यक्ष ठाकुर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न जनकपुरधाम आएका हुन् । तस्बिर : टोलपडोस