मधेश प्रदेश : विश्वासको मत दिने वा नदिनेमा नेकपा(एस) पनि अनिश्चित
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ वैशाख । सङ्घीय सत्ता गठबन्धनमा सामेल नेकपा (एकीकृत समाजवादी) ले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा अझै औपचारिक निर्णय गरिसकेको छैन । नेकपा (एकीकृत समाजवादी) यादवनेतृत्वको प्रदेश सरकारमा सहभागी समेत छ ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउन काँग्रेससँग सहकार्य गर्दै नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षलाई सहयोग गरिरहेको नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेशमा समेत फरक व्यवहार प्रदर्शन गर्न सक्ने आशंकाका बीच विश्वासको मत दिने वा नदिने कुरामा ढिलाइ गरिरहेको छ ।
पार्टीका प्रमुख सचेतक कनिष पटेलले विश्वासको मत दिने वा निदिने विषयमा अबको एक घन्टापछि मात्र निर्णय गरिने बताए । ‘अहिले विश्वासको मत दिने वा नदिने दुवैमा पचास–पचास प्रतिशत सम्भावना छ । पार्टीको केन्द्र र प्रदेशका बीच समन्वय भएर निर्णय हुनेछ,’ प्रमुख सचेतक पटेलले भने ।
प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) का सात सदस्य छन् । यो पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिए सोहीअनुसार गर्न नौ सदस्य भएको लोसपा नेपालका लागि बाटो प्रशस्त हुनेछ ।
नेकपा(एकीकृत समाजवादी) का एक केन्द्रीय नेताका अनुसार मधेश प्रदेशमा विश्वासको मत दिने वा नदिने विषयमा संघीय सत्ता गठबन्धनका नेताहरूबीच निरन्तर संवाद भइरहेको भए पनि टुंगो लाग्न नसकेको बताए ।