मधेश प्रदेशसभामा होहल्ला, १० मिनेटका लागि बैठक स्थगित
टोलपडोस समाचारदाता
काठमाडौँ, ४ वैशाख । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको मधेश प्रदेशसभाको मंगलबारको बैठक पाँच मिनेटपछि नै दस मिनेटका लागि स्थगन भएको छ ।
सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही प्रारम्भ भएको जनाउ दिनेबित्तिकै मेच ठटाएर कुर्चीबाट उठेका जनमत पार्टीका प्रदेशसभा सदस्य चन्दन सिँहले सप्तरीस्थित कृषि विश्वविद्यालयको भवन शिलान्यासमा तत्कालीन मन्त्री तथा सांसदमाथि भएको हातपातका विषयमा छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन नगरेको र अर्थ मन्त्रालयका कामकाजका बारेमा गठित संसदीय छानबिन समितिको प्रतिवेदन नआएको भन्दै सदन अवरुद्ध गर्ने बताएका थिए ।
ती विषयमा सरकारको उत्तर आएपछि मात्र सदन चल्ने दिने प्रदेशसभा सदस्य सिँहले बताएपछि बीचमै उठेका नेकपा एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले जनमत संसदीय दलका नेता महेशप्रसाद यादवमाथि भएको कुटपिट व्यक्तिगत घटना भएको र त्यसबारे संसद्मा कुरा उठाउन नमिल्ने बताएपछि सदनमा हंगामा भएको छ ।
जनमतका प्रदेशसभा सदस्य सिँहले कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुट्दै बैठक बसाइएकोमा आपत्ति जनाए ।
संसदमा जनमतका प्रदेशसभा सदस्यहरूले सरकारविरोधी नारा र अन्य होहल्ला र त्यसको प्रत्युत्तरमा एमालेका प्रदेशसभा सदस्य उत्रिएपछि सदस्यहरूलाई बस्न रुलिंग गरेका सभामुखले कोलाहल शान्त हुने नदेखेपछि १० मिनेटका लागि बैठक स्थगन गरेका हुन् ।