मधेश प्रदेश : मुख्यमन्त्रीलाई लोसपाले विश्वासको मत नदिने

२०८१ बैशाख ४, मंगलवार १५:४२
महन्थ ठाकुर, अध्यक्ष, लोसपा नेपाल

टोलपडोस समाचारदाता

जनकपुरधाम, ४ वैशाख । मधेश प्रदेश सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरसँग मंगलबार मन्त्रणा गरेपछि लोसपा संसदीय दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने टुंगो लगाएको हो ।

प्रदेशसभाको अहिले जारी बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची छ । मुख्यमन्त्री यादवले संघीय सत्ता गठबन्धनअनुरूप नेकपा एमालेलाई सरकारमा सहभागी गराउनेगरी मन्त्रिपरिषद् पुनर्गठन गरेपछि बहिर्गमनमा परेका काँग्रेसले चैत ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संवैधानिक प्रावधानअनुसार सत्तारुढ दल सरकारबाट बाहिरिएपछिमुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

मधेश प्रदेशसभामा लोसपाका नौ सदस्य छन् । पार्टी संसदीय दलका नेता अभिराम शर्माको भने कानुनी जटिलताका कारण प्रदेशसभा बैठकमा सहभागी हुने स्थिति छैन । प्रदेश सरकारमा लोसपाका रमेश पटेल कुर्मी वन तथा वातावरण मन्त्री छन् ।

सरकारलाई विश्वासको मत दिन लोसपा नेपालले थप एक मन्त्रालय माग गर्दैआएको थियो । तर, मुख्यमन्त्री यादवले विश्वासको मत पूर्व क्याबिनेट मन्त्री दिन नसकिने बरु एकजनालाई राज्यमन्त्री बनाउने बताउँदैआएका थिए ।

लोसपाले पार्टी सरकारमा सहभागी भए पनि सरकार पुनर्गठन, सञ्चालनलगायतका विषयमा मुख्यमन्त्री यादवले पार्टी संसदीय दलसँग सरोकार नराखेको आरोप लगाएको छ ।

लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले आफूहरूका लागि सरकारलाई विश्वासको मत दिने परिस्थिति नरहेको बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH