मधेश प्रदेशसभा : कानुनविपरीत सभामुखले उँधोमुन्टो लगाए
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ वैशाख । मधेश प्रदेशसभाको मंगलबारको बैठक आरम्भमा राष्ट्रगान बजिरहँदा सभामुख रामचन्द्र मण्डललगायत उल्लेख्य सँख्यामा प्रदेशसभा सदस्यहरूले उँधोमुन्टो लगाएका छन् ।
यो नेपाल सरकारको राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ विपरीतको व्यवहार हो । कुनै पनि नागरिकका सन्दर्भमा सिद्धान्ततः कानुनको अज्ञानता अक्षम्य मानिन्छ । कानुनले माननीय सम्बोधन हुने तहका पदाधिकारीसँग कानुनको पालना अक्षरशः हुने अपेक्षा गरिन्छ ।
राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले राष्ट्रिय गानको प्रयोग, राष्ट्रिय गानको प्रयोगको समय र विधि आदिका विषयमा मार्गनिर्दिष्ट गरेको छ । कार्यविधि पनि कानुन हो ।
कार्यविधिमा विभिन्न औपचारिक कार्यक्रममा राष्ट्रिय गान वा धुन बज्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत सबै सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्वक आवाजमा राष्ट्रिय गान गाउनुपर्ने उल्लेख छ ।
राष्ट्रिय गान देशभक्तिले ओतप्रोत कुनै पनि राष्ट्रको आधिकारिक गान हुन्छ । यो गान बजाउने र बज्ने बेलामा गरिनुपर्ने व्यवहारबारे कार्यविधि बनाएको हुन्छ । प्रदेशसभा बैठक पनि राज्यको औपचारिक कृत्य भएकाले कार्यविधिअनुसार नै राष्ट्रिय गान वा धुन बज्ने बेलामा उपस्थित सभामुख, प्रदेशसभा सदस्य र अधिकारीहरूले तनक्क तन्केर गर्विलो आवाजमा गाउनुपर्ने एक अधिकारीले बताए ।
तर, मधेश प्रदेशसभामा अन्य दिन पनि राष्ट्रिय गानको धुन बजिरहँदा केही परिपक्व उमेरका सदस्यबाहेक प्रायःले शोकसभामा उभिएझैँ शिर निहुँराएर धुन सक्ने प्रतीक्षा गर्छन् ।
‘अझ् सभामुख मण्डल र प्रदेशसभाका निमित्त सचिव अरुणकुमार झाले नै भुइँतिर आँखा पारेर राष्ट्रिय गानको धुनमा उभिएपछि अरूले त्यसको अनुकरण नगर्ने कुरा नै आउँदैन,’ ती अधिकारीले भने ।
आज राष्ट्रिय गान बजिरहँदा भने पाश्र्वमा रहेका सुरक्षाकर्मीले शिर उठाएका देखिन्थें ।