जनमतले अराजक र उपद्रवी व्यवहार प्रदर्शन गर्यो : मुख्यमन्त्री यादव

२०८१ बैशाख ४, मंगलवार २१:४६

‘सरकार सशक्त र दृढ भएर अघि बढ्ने’

सरोजकुमार यादव, मुख्यमन्त्री, मधेश प्रदेश

टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार सशक्त र दृढ भएर अघि बढ्ने बताएका छन् ।
मधेश प्रदेशसभाबाट मंगलबार विश्वासको मत हासिल गरेपछि मुख्यमन्त्री यादवले धेरै किसिमका प्रतिकूलताका बाबजुद पनि अन्य प्रदेशको तुलनामा मधेश प्रदेश सरकारले राम्रो काम गरेको दाबी गर्दै आगाी दिनमा सरकारका कामकाज थप प्रभावकारी बनाउन योजनाबद्ध ढंगले अघि बढ्ने स्पस्ट पारे ।

उनले मुख्यमन्त्रीका रूपमा आफूले चारपटक विश्वासको मत लिनुपरेको, चारवटा निर्वाचनका लागि लागेका आचारसंहिता बेहोर्नुपरेको र तीनपटक प्रमुख सचिव फेरिएको स्थितिबाट गुज्रिनुपरेको उल्लेख गर्दै अबका दिनमा विगतका प्रतिकूलताका प्रतिअसरसमेत पुर्नेगरी तीव्रताका साथ काम गरिने बताए ।

उनले जनमत पार्टीले सदनमा अराजक र उपद्रवी काम गरेको आरोप लगाए । विश्वासको मत लिने मुख्यमन्त्रीको संवैधानिक प्रावधान बिथोल्नेगरी विश्वासको मत प्रस्ताव गर्ने दिनमा अन्य जनमत पार्टीले अन्य प्रस्ताव ल्याउनु नै अनुपयुक्त भएको उनले जिकिर गरे ।

उनले भने, ‘कार्यकारीले विश्वासको मत लिनेबारे पहिले नै जानकारी दिइएको हुन्छ । त्यसअनुरूप सदनको कार्यसूचीमा मुख्यमन्त्रीले विश्वासको मत प्रस्ताव गर्ने भन्ने थियो । तर जनमतले छानबिन समिति बनाउने भनेर होहल्ला मच्चयाए । कुनै पनि दृष्टिले यसलाई उचित मान्न सकिँदैन ।’

मुख्यमन्त्री यादवले छानबिन समिति बनाउन आफू सहमत हुँदाहुँदै पनि जनमत पार्टीले सदनलाई अशान्त बनाएकोमा आफू दुःखी भएको समेत बताए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH