आज रामोत्सव, जनकपुरधाममा विशेष आरती
टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ वैशाख । आज रामनवमी । सनातन धर्मावलम्बीहरू देशभरि नै हर्षोल्लासका साथ रामोत्सव मनाउँदैछन् । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरगायत विभिन्न मन्दिरहरूमा पूजाअर्चनाका लागि नेपाल तथा भारतका सयौँ श्रद्धालुभक्तजनहरूको एकाबिहानबाट घुइँचो लागेको छ ।
रामनवमीका दिन जनकपुरधाममा मेला लाग्ने परम्परा छ । यस अवसरमा जानकी मन्दिरलगायत विभिन्न ठाउँमा देवमहात्म्य प्रदर्शन हुने धार्मिक तथा साँस्कृतिक झाँकी, भजनकीर्तन तथा प्रवचनलगायतका धार्मिक कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरमा भगवान् राम अवतरित भएको मानिने मध्याह्न १२ बजे आरती हुने जानकारी दिए ।
चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाइने राम जन्मोत्सव वासन्तिक नवरात्राभित्रमै पर्ने भएकाले भगवान् रामसँगै दुर्गाभवानी समेतको पूजाआजा गरी मनाइन्छ ।
सुशासन, सुव्यवस्था, धर्म, शान्ति, न्याय र सदाचारको पूर्णताको पर्याय मानिने रामराज्यको सम्झनामा रामनवमी मनाउने गरिएको छ । पितृभक्ति, मातापिताको आज्ञापालन, भ्रातृप्रेम, एकपत्नी व्रत, कृतज्ञता, शरणगतवत्सलता र प्रजाको भावअनुसार राज्यसञ्चालन जस्ता आदर्श गुणको अनुकरण तथा रावणरूपी शत्रुको हृदयबाट बहिस्करण पनि यस धार्मिक पर्वको सन्देश छ ।
मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।