मुख्यमन्त्रीले माफी माग्छु भन्दा पनि जनमत अड्याअड्यै भयो : सभामुख मण्डल

२०८१ बैशाख ५, बुधबार ११:३०
रामचन्द्र मण्डल, सभामुख, मधेश प्रदेशसभा । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ वैशाख । सप्तरीस्थित कृषि विश्वविद्यालय भवन शिलान्यासक्रममा पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवसहितमाथि भएको बलप्रयोगबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा मुख्यमन्त्री सरोजकुमार यादव सहमत भइसक्दा पनि जनमत पार्टीले मंगलबार सदन अवरोधको प्रयत्न गरेको सभामुख रामचन्द्र मण्डलले बताए ।

जनमतको संसदीय दलका नेता महेशले संसदीय समिति बनाउने विषय कार्यसूचीमा नराखेर सरकारले आफूहरूको माग बेवास्ता गरेकाले सदनमा अवरोध खडा गरिएको बताइरहेका बेला सभामुख मण्डलले जनमतको अलमलले गर्दा सहमति बन्न नसकेको जिकिर गरेका हुन् ।

‘सप्तरी घटनामा भएको दुव्र्यवहारलाई लिएर मुख्यमन्त्रीले क्षमा माग्ने र घाइते भएकाहरूको औषधोपचारको खर्च सरकारले बेहोर्ने विषयमा मुख्यमन्त्री सहमत भइसक्नुभएको थियो,’ सभामुख मण्डलले बुधबार बिहान टोलपडोससँग भने, ‘मेरै मध्यस्थतामा मुख्यमन्त्रीले त्यो प्रतिबद्धता व्यक्त गर्नुभयो । तर, एकछिनको स्तब्धतापछि जनमतका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्रीजीको ती कुरालाई अस्वीकार गर्दै संसदीय छानबिन समितिको गठन हुनुपर्ने माग राख्नुभयो ।’

संसदीय छानबिन समिति गठनको मागमा पनि मुख्यमन्त्री सकारात्मक भएपछि त्यससम्बन्धी कार्यक्षेत्र रहेको प्रदेश मामिला समितिलाई जिम्मा दिएर छानबिन बढाउने सरकारको प्रस्तावमा पनि जनमत असहमत भएको सभामुख मण्डलले बताए ।

‘छानबिन समिति गठन भएर सप्तरी घटनामा मुख्यमन्त्री दोषी भएको निकर्ष निकाल्दाको अवस्थामा पनि माग्ने भनेको क्षमा नै हो,’ उनले भने, ‘जनमतको माग पहिलोपटक बैठक स्थगन भएपछि नै सम्बोधन हुने स्थितिमा थियो । तर, त्यस्तो सम्भव भएन ।’

जनमतले जसरी भए पनि एकदुईका लागि सदन स्थगन गराउन खोजेको र त्यस प्रस्तावमा मुख्यमन्त्री सहमत हुन नसक्दा विश्वासको मत लिने मत विभाजनअघि जनमत आक्रामक बनेको पनि सभामुख मण्डलले खुलासा गरे । उनले विश्वासको मत कुनै पनि कार्यकारीले आफ्नो सुविधा र अनुकूलतामा नै लिने र त्यसअनुसार नै ३० दिनको अवधि दिइएकाले विश्वासको मत लिने अवधि लम्ब्याउन आफू सदन स्थगनको पक्षमा नगएको बताए ।

‘अशान्ति हुँदा संसद् स्थगन गर्ने विकल्प मसँग थियो । तर, मैले होहल्ला रोक्न मर्यादापालकलाई निर्देशन गरेलगत्तै जनमतका प्रदेशसभा सदस्यहरू बाहिरिनुभयो । त्यसलगत्तै अन्य दलले पनि सदनबाट निस्किए,’ उनले भने, ‘त्यसैले सदनबाट कुनै दल निकालियो वा दलले बहिष्कार गरे भन्दा पनि मतदानमा फलाना दलहरू सहभागी भएनन् भन्ने अर्थमा बुझ्नुपर्छ ।’

विश्वासको मत सरकार पक्ष र विपक्षी दुवैका लागि अवसर भएको बताउँदै सभामुख मण्डलले विपक्षी मतदानमा सहभागी नहुँदैमा मतदान नगराउँदा गलत नजिर बस्ने औंल्याए । ‘मैले हिजो विश्वासको मत निर्णयार्थ प्रस्तुत नगर्दा गलत नजिर बस्थ्यो । विपक्षी नहुँदा मुख्यमन्त्रीले विश्वासको मत लिनै नसक्ने नजिर ।’

उनले मंगलबार प्रदेशसभाको बैठक प्रतिपक्षीविहीन नरहेको ठहर सुनाए । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहको बैठकमा प्रतिपक्षीहरू सहभागी भएकाले प्रतिपक्षीविहीन बैठक भन्ने प्रयोग गर्न नहुने उनको ठम्याइ छ ।

सभामुख मण्डलले सदनमा तोडफोड सुरु भएपछि कानुनअनुसार क्षति भराउने निर्देशन दिएर स्थिति साम्य पार्न खोजेको उल्लेख गर्दै त्यो कुनै दल वा खास प्रदेशसभा सदस्यतर्फ लक्षित नभएको प्रस्ट्याए । उनले भने, ‘सदनमा क्षति त भएको छ नि अनि मैले नियमानुसार क्षति भराउनु भन्ने निर्देशन नदिए के भन्थें ?’

जनमत पार्टीको संसदीय दलका नेता महेशले पनि सुरुमा सभामुख मण्डलले सहमतिका लागि अधिकतम प्रयास गरेको बताए । ‘तर, पछि उहाँ सरकारको दबाबमा पर्नुभएको अनुभव हामीले गर्यौं,’ उनले भने ।

संसदीय दलको नेता महेशले सप्तरी घटनाको छानबिन गर्न संसदीय समिति गठनबारेको प्रस्ताव कार्यसूचीमा राखेर पारित गराउन तथा अर्थ मन्त्रालयका विषयमा छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनमा छलफल गर्न सरकार सहमत नभएको बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH