राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक
काठमाडौँ, ५ वैशाख(रासस) । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक एवम् पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोद्वारा लिखित ‘अधुरा क्रान्ति’ सार्वजनिक गरिएको छ ।
उक्त पुस्तकको आज काठमाडौंमा आयोजित कार्यक्रममा नेता महतो, विश्लेषक सिके लाललगायत विज्ञहरूले सामूहिक रूपमा विमोचन गरे ।
नेता महतोका मधेस सङ्घर्ष र राजनीतिक जीवनमा भोगेका विभिन्न आयामलाई पुस्तकले उजागर गरेको छ । अधुरो क्रान्तिमा नेता महतोले आफ्नो राजनीतिक जीवन र मधेसमा उठेका विद्रोहका आवाजलाई बुझ्ने गरी उल्लेख गरेका छन् ।
सो अवसरमा नेता महतोले अधुरो क्रान्ति उत्पीडनमा परेका जनताको पीडाको पुलिन्दा भएको बताए । “सात वर्षको मेहनतमा तयार गरिएको पुस्तकले उत्पीडनमा परेका जनताको भोगाइ, देखाइ र बुझाइका विषयवस्तु समेटेको छ”, उनले भने ।
मुलुकमा परिवर्तनका लागि हालसम्म भएका सबैखाले क्रान्ति र सङ्घर्षले उत्पीडनमा परेका जनतालाई न्याय दिन नसकेको दाबी गर्दै नेता महतोले ती अधुरा क्रान्तिलाई सम्बोधन गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । उनले एकल सोच र चिन्तनबाट राज्यसञ्चालन गरिएको जिकिर गर्दै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको भावना राज्य सञ्चालनको हिस्सेदारी हुनुपर्ने धारणा राखे ।
पुस्तकमाथि टिप्पणी गर्दै विश्लेषक सिके लालले अधुरो क्रान्तिले करिब ६५ वर्षे नेपालको राजनीतिक घटनाक्रमलाई मधेसको आँखाबाट हेरिएको र मधेस आन्दोदलनका आयामलाई क्रमबद्ध गरिएको उल्लेख गरे । उनले मधेसका मुद्दालाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने अन्य मधेसी नेताहरूलाई पुस्तकमा नसमेटिएको टिप्पणी गरे ।
प्राडा बालकृष्ण माबुहाङ्ले मधेसको राजनीतिक सङ्घर्ष र मधेसी जनताको पीडालाई उजागर गरिएको पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको बताए । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले मधेसी जनताको मुक्तिका लागि सङ्घर्ष गरेका नेता महतोको पुस्तक अधुरो क्रान्ति आधुनिक राजनीतिक इतिहासको साक्षीका रूपमा आएको उल्लेख गरे । मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालमा वैचारिक, सामाजिक न्यायको क्रान्ति अधुरो छ भन्ने पुस्तकले प्रमाण पेस गरेको बताए ।
पूर्वराजदूत महेश दाहालले मधेसको समग्र समस्या बुझ्न पुस्तक उपयोगी हुने बताए । अभियान्ताद्वय सुमन सायमी र बुद्धछिरिङ मोक्तानले मधेसका अधुरा क्रान्तिलाई पूरा गर्न पुस्तकले प्ररित गर्ने धारणा राखे ।
पुस्तकमा ‘माटो र बाटोको पहिचान’, ‘भाषिक सङ्घर्ष’, ‘पहिचानको सङ्घर्ष’, ‘उद्गम र उपेक्षा’, ‘सङ्गत’, ‘विभेदको अन्त्यहीन दुष्चक्रलगायत’ लगायत शीर्षकमा लेख समावेश छन् ।
पाइन प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको तीन सय ८१ पृष्ठको उक्त पुस्तकको मूल्य रु सात सय ७० रहेको छ ।