युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
काठमाडौं, ६ वैशाख(न्युज कारखाना) । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुलनजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ ।
युएईमा दुई दिनदेखि भएको भीषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।
युएईमा अहिले भइरहेको वर्षा ७५ वर्षयताकै ठूलो भएको बताइएको छ ।