धनुषा : बोतल र जर्किनमा पेट्रोल किनबेच रोक्न सुरक्षाकर्मी खटिने
टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ चैत । दुई दिनअघि जिल्ला प्रहरी कार्यालय धनुषा(जिप्रका)ले खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगराउन पेट्रोल पम्पहरूका लागि सूचना जारी गर्यो ।
जिल्लाका केही पेट्रोल पम्पहरूबाट बोतल, जर्किनलगायतका भाँडोमा अति प्रज्जवलनशील पेट्रोलियम पदार्थ बिक्रीवितरण भइरहेको प्राप्त सूचनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जिप्रका धनुषाले जनाएको थियो ।
पेट्रोलियम पदार्थ खुला रूपमा बिक्री गर्दा असुरक्षित ओसारपसार र भण्डारण गर्दा आगलागी हुने र मानवीय एवम् भौतिक क्षतिसमेत हुने भएकाले पेट्रोल पम्पबाट सवारीसाधनमा सीधा पेट्रोलियम पदार्थ भर्ने सूचना जारी गरेको थियो ।
सवारीसाधनमा सीधा पेट्रोलियम पदार्थ नभर्दाको अवस्थालाई सुरक्षा संवेदनशीलताको बेवास्ता ठहर गरेको जिप्रकाले त्यस्तो अवस्थामा कानुनअनुसार कारबाही हुने पनि सूचनामा उल्लेख गरेको थियो ।
संयोग नै भनौँ, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा आमाछोरीको जलेर मृत्यु भएका घटनामा बोतलमा ओसारिएको पेट्रोल प्रयोग भएको पाइएको छ । बिहीबार महोत्तरीको मनरासिस्वा नगरपालिका– २ की २३ वर्षीया प्रियंका महतो कानु र उनकी १० महिने छोरी माही महतोले जलेर मृत्यु भएको थियो ।
प्रियंकाको शव जलेका अवस्थामा घटनास्थलमा फेला परेको थियो भने १० महिने दुधेबालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लाँदै गर्दा बाटामा मृत्यु भएको थियो । प्रहरीले घटनास्थलबाट अन्य सामानका अतिरिक्त प्रज्जवलनशील इन्धन ओसारिएको बोतल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् डिएसपी रञ्जन आवाले घटनास्थलको प्रकृति हेर्दा बिहीबारको त्यो घटना आत्महत्या हुनसक्ने बताए । उनले भने, ‘घटनास्थलबाट बरामद पेट्रोलियम पदार्थ ओसारिएको बोतल बरामद हुनुलगायत केही थप कारणले आत्महत्याको घटना भएको हाम्रो प्रारम्भिक ठम्याइ छ ।’
डिएसपी आवाले घटनामा प्रयोग भएको र पेट्रोल रहेको आशङ्का गरिएको इन्धन किनबेच भएको ठाउँको खोजी भइरहेको जानकारी दिए । ‘थाहा पाउनेहरूले पनि मुख नखोल्दा यस्ता घटनामा सही कुरा पत्ता लगाउन कठिन हुन्छ,’ उनले भने ।
घर र माइत दुवै महोत्तरी जिल्लामा रहेका प्रियंकाको दहन जनकपुरधामको पूर्वीक्षेत्रमा भएका बारे अन्य कयौँ कोणले अनुसन्धान भइरहेको डिएसपी आवाले बताए । ‘पारिवारिक खटपटको कोण यस्तो घटनामा भइहाल्छ तर अन्य सम्भावनालाई नछाडीकन हामीले अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।
प्रियंका गत वैशाख १ गतेबाट नै परिवारको सम्पर्कबाट बाहिर रहेकी डिएसपी आवाको भनाइ छ ।
दहनको घटना आत्मदाह वा हत्या भन्ने कुरा प्रहरी निक्र्योल हुन बाँकी छ । तर, खुला रूपमा पेट्रालको बिक्रीवितरण तथा ओसारपसारले वीभत्स घटना गराउन सक्ने पुनर्पुष्टि भएको छ ।
नेपालमा पेट्रोलियम पदार्थको आधिकारिक विक्रेता नेपाल आयल निगमले खुला रूपमा पेट्रोलको बिक्रीवितरण दण्डनीय रहेको बताउँदै आएको छ । तर, जिल्लाका अधिकांश ग्रामीण बजारसँगै सहरीक्षेत्रमा समेत पान तथा किराना पसललगायतमा पेट्रालको खुलेआम किनबेच हुनेगरेको छ ।
बिहीबार आमाछोरी जलेर मृत्यु भएको घटनास्थल जाने बाटोमा जनकपुरधामस्थित कदमचोकबाट कपिलेश्वर जाने बाटोमा बोतलमा पेट्रोल पाइने पसल लहरै छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाले कपिलेश्वरको घटना दुर्भाग्यपूर्ण भएको र त्यसबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको बताए ।
प्रमुख जिल्ला अधिकारी कडरियाले सुरक्षा निकायको लिखित पत्र नभई सवारीसाधनबाहेकमा पेट्रोल नभर्न पेट्रोलियम पदार्थ डिलर्स एशोसिएसनका अध्यक्षलगायत पदाधिकारी तथा डिलर्सहरू समेतलाई आफैँले जानकारी गराएको उल्लेख गरे । उनले विभिन्न पसलमा बोतल तथा जर्किन आदिमा बिक्री भइरहेको पेट्रोलको व्यापार सुरक्षाकर्मी परिचालन गरी बन्द गराइने जानकारी दिए ।