प्रहरीको सामाजिक दायित्व : एसपी तिवारीले थाले छाडाचौपाया नियन्त्रण अभियान

२०८१ बैशाख ९, आईतवार १०:०९

‘कार्यालय वरपर सक्रिय दलाललाई छाडिन्न’

भुवनेश्वर तिवारी, प्रहरी उपरीक्षक, जिप्रका धनुषा । तस्बिर सौजन्य : अमरेशकुमार मल्लिक

टोलपडोस समाचारदाता

जनकपुरधाम, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय(जिप्रका) धनुषाको पहलमा जनकपुरधामको बजारक्षेत्रमा छाडिएका पशुचौपाया नियन्त्रणमा लिई गौशाला पठाउने अभियान सुरु गरेको छ । शनिबार साँझ जनकपुरधाम उपमहानगरका बाटाघाटामा खुला रूपमा हिँड्डुल गरिरहेका १६ वटा चौपायालाई नियन्त्रणमा लिएर गौशाला पठाइएको जिप्रका धनुषाले जनाएको छ ।

छाडाचौपायाका कारण सहर कुरूप बन्दै गएको, सवारी दुर्घटनामा वृद्धि भएको, सवारीसाधन आवागमनमा अवरोध उत्पन्न हुँदैगएको, पैदलयात्रु तथा सडक वरपरका संरचना जोखिममा रहेको, दुर्गन्ध पसारिएको लगायत असँख्य समस्या उत्पन्न हुँदै आएका छन् ।

सोही कुरालाई दृष्टिगत गरी जिप्रका धनुषामा बिहीबार आयोजित पत्रकारहरूसँगको अन्तक्र्रियामा धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले स्थानीय तहसँग समन्वय गरी छाडाचौपाया नियन्त्रणमा तीव्रता ल्याइने बताएका थिए । उनले त्यस सम्बन्धमा प्रहरी नायब महानिरीक्षकको निर्देशनसमेत रहेकाले ढिला नगरी सो सम्बन्धी प्रहरीको कार्ययोजना कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी प्रमुखको प्रतिबद्धता आएको तीन दिनभित्रमै छाडाचौपाया नियन्त्रण अभियान थालनी भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेलले दुर्घटनावृद्धि, सहरको सुन्दरतामा ह्रास र ती कारणबाट स्थानीय सभ्यतामै प्रश्नचिह्न ठडिएपछि छाडा चौपाया नियन्त्रणमा प्रहरीले चासो बढाएको जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिकाले छाडाचौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका बनाएर नीतिगत निर्णय तथा कार्यान्वयन तहका काम गर्ने जनाए पनि बजारमा छाडिएका पशुचौपाया नियन्त्रणमा लिएर गौशालासम्म पुर्याउने काम पनि सुस्त गतिमा भइरहेको थियो ।

केही दिनअघि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जनकपुरधामको सहरीक्षेत्रमा छाडिएका पशुचौपायाको सँख्या अत्यधिक तथा उपमहानगरपालिकाको एकमात्र गौशालामा वस्तुभाउ राख्ने क्षमता कम भएको जानकारी दिएका थिए । उनले छाडा गाईवस्तु नियन्त्रणमा लिए पनि व्यवस्थापन गर्न कठिन रहेको तर्फ सङ्केत गरेका थिए ।

यद्यपि उपमहानगरपालिका आफैँले बनाएको छाडाचौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७५ मा एकमात्र गौशालाका वैकल्पिक व्यवस्थापनबारे उल्लेख छ ।

निर्देशिकामा प्रत्येक वडामा गौशाला निर्माण, पालन तथा चरण क्षेत्र निर्धारण तथा निर्धारित चरणक्षेत्रका लागि घरटहरा, पानी, घेरबार, पशु आहारका रूपमा घाँस, डालेघाँस, रुखबिरुवा आदिका पात, रेखदेख गर्ने जनशक्ति आदि व्यवस्थापन गर्ने उल्लेख छ ।

प्रहरी सहितको टोलीले जनकपुरधामको सहरीक्षेत्रबाट नियन्त्रणमा लिँदै छापाचौपाया । तस्बिर : जिल्ला प्रहरी कार्यालय, धनुषा

घरमा पालिएका पशुचौपायाको सम्पूर्ण अभिलेखीकरण गर्ने भन्ने विषय पनि निर्देशिकामा समाविष्ट छ ।

निर्देशिकामा छाडाचौपाया नियन्त्रण अनुगमन तथा समन्वय समितिको व्यवस्था छ । समिति संयोजकमा उपमहानगरका उपप्रमुखलाई तोकिएको छ । उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले निर्देशिकाअनुसार आफूलाई नगरप्रमुख साहले कुनै पनि अधिकार नदिएको र त्यससम्बन्धी कार्य सोझै गरिरहेका बताए ।

केके भने प्रहरी उपरीक्षक तिवारीले ?

धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक तिवारीले धनुषा प्रहरी नवप्रवद्र्धनात्मक र सिर्जनात्मक ढंगले अघि बढ्ने बताए । उनले सूचना प्रणाली सुदृढ बनाई बुद्धिमत्तापूर्ण ढंगले सक्रिय भएर काम गर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएको जानकारी समेत दिए ।

प्रहरी उपरीक्षक तिवारीले लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्ध प्रहरी थप कडाइका साथ प्रस्तुत हुने बताए । ‘मैले यस विषयमा जिल्लाका प्रहरी अधिकारीहरूलाई गम्भीरता र संवेदनशीलतापूर्वक काम गर्न भनेको छु,’ उनले भने ।

केही दिनअघि मात्र धनुषाका प्रहरी प्रमुखमा पदस्थापित प्रहरी उपरीक्षक तिवारीले प्रहरी कार्यालय वरपर दलाल सक्रिय रहेको तर तिनलाई चिन्न मुश्किल भएको बताए । ‘को दलाल छन्, को छैनन् भनी चिन्न गाह्रो छ तर सधैँ प्रहरी कार्यालय धाउने पुराना अनुहार हेरिरहेको छु,’ प्रहरी निरीक्षक भएका बेला जिप्रका धनुषाको मुद्दा फाँटमा काम गरेका प्रहरी उपरीक्षक तिवारीले भने ।
उनले प्रहरी कार्यालयभित्र दलाललाई निरुत्साहित तथा नियन्त्रण गरिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रहरी प्रमुख तिवारीले म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण, पेट्रोलियम पदार्थको खुला व्यापार आदि नियन्त्रण गर्न पनि प्रहरी सक्रिय रहने उल्लेख गरे ।

प्रहरीभित्र ‘घुमुवा’ नरहेको पनि प्रहरी उपरीक्षक तिवारीले प्रष्ट्याए । उनले भने, ‘पहाडतिर सरुवा भइसकेका कोही प्रहरी यता आउँदा दादागिरी गर्छन् भने तिनले कारबाही भोगेको सुन्दा अनौठो नमान्नुहोला ।’

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH