पहिलो मधेश विद्रोहका नेता शर्मा घर फर्कँदै, जसपा अध्यक्ष यादवले सदस्यता दिने
टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ वैशाख । प्रथम मधेश विद्रोहका नेता रामकुमार शर्मा उपेन्द्र यादवनेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालमा आज(आइतबार) औपचारिक रूपमा प्रवेश गर्दैछन् ।
नेकपा माओवादी केन्द्र सदस्य रहेका शर्माले केही दिनअघि माओवादी नेतृत्वप्रति देशका प्रमुख राजनीतिक मुद्दा सेलाएको भन्दै अविश्वास, आशङ्का र असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्याग गरेको जनाएका थिए ।
जसपा नेपालका अध्यक्ष यादवले आइतबार जलेश्वरमा आयोजित एक कार्यक्रममा शर्मा र उनकी धर्मपत्नी एवम् पूर्व प्रतिनिधिसभा सदस्य इन्दु शर्मालाई पार्टी सदस्यता दिनेछन् ।
माघे विद्रोहमा जसपा नेपालका अध्यक्ष यादव अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका शर्मा महासचिव थिए । मधेश आन्दोलनक्रममा विद्रोही र सरकारबीच भएको सहमतिप्रति असन्तोष जनाउँदै उनी महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) का सहमहामन्त्री बनेका थिए ।
प्रथम संविधानसभामा तमलोपाको टिकटमा सदस्य निर्वाचित शर्माले तमलोपा परित्याग गरी माओवादीसँग जोडिएका थिए । शर्मा लामो समयसम्म भूमिगत माओवादीमा संलग्न रहेका थिए ।
नेता माओवादीले पहिचान, संघीयता, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता मुद्दा छाडेकाले आफू सो पार्टीबाट अलग भएको बताए ।