मधेश प्रदेश : बिनाविभागीय मन्त्री साहलाई अर्थको जिम्मेवारी दिन चर्को दबाब
‘जसपा नेपाल सञ्जयको दायित्व परिवर्तन नगर्ने पक्षमा’
टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ वैशाख । मधेश प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले अर्थ मन्त्रालयका लागि अडान नछाडेपछि मुख्यमन्त्री सरोजकुमार यादव तनावमा परेका छन् । मन्त्रालयका विषयमा सहमति हुन नसक्दा बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहको जिम्मेवारी तोकिएको छैन ।
जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता यादवनेतृत्वको सरकारलाई गत वैशाख ४ गते विश्वासको मत दिँदा नेकपा माओवादीले शक्ति र प्रभावका दृष्टिले दुई महत्वपूर्ण मन्त्रालयको माग गरेका थिए । जसमा मुख्यमन्त्री यादव सहमत भएको माओवादीको भनाइ छ ।
तर, सहमतिविपरीत माओवादीलाई मुख्यमन्त्रीसँग रहेका वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय दिन मुख्यमन्त्रीले प्रस्ताव गरेपछि नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । यद्यपि सोही पार्टीका युवराज भट्टराईको भने विभाग तोकिएको थियो । भट्टराई माओवादीकै सुनिता यादवको ठाउँमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बनेका थिए ।
शपथग्रहणका दिन माओवादी संसदीय दलका नेता साहले संयुक्त सरकारको अर्थ रिक्त रहेका मन्त्रालयमा नियुक्ति नभएर बृहत् सहमतिका आधारमा दलहरूबीच कार्यविभाजन भएको उल्लेख गरेका थिए । त्यसअनुसार उनले आफूले अर्थ मन्त्रालय पाउने दाबी गर्दैआएका छन् ।
मुख्यमन्त्री यादवले जसपा नेपालका सञ्जयकुमार यादवलाई अर्थमन्त्रीबाट हटाएर साहलाई नियुक्त गर्न सक्ने अवस्था कठिनमात्र नभएर असम्भवप्रायः भएको जसपा स्रोतको भनाइ छ । ‘जसपाका सञ्जयलाई अर्को मन्त्रालयको जिम्मेवारी दिएर साहलाई अर्थमन्त्रीको कार्यभार दिन मुख्यमन्त्रीमाथि चर्को दबाब छ । तर, पार्टीका तर्फबाट दोस्रो वरीयताका मन्त्री एवम् पार्टीभित्र उनको सशक्त पृष्ठभूमिका कारण त्यसो गर्न मुख्यमन्त्रीका लागि भने सजिलो छैन,’ स्रोतले भन्यो ।
जसपा नेता सञ्जय पार्टीकै टिकटमा दोस्रोपटक निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी विद्यार्थीकालबाटै पार्टी राजनीतिमा सक्रिय रहँदै मधेश विद्रोहमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । प्रदेशसभाको अघिल्लो कार्यकालमा पाँच वर्षसम्म जसपा नेतृत्वकै सरकार भए पनि सञ्जयले सरकारमा सहभागी हुने अवसर पाएनन् ।
गत निर्वाचनमा पार्टीका बहुसँख्यक प्रभावशाली नेता पराजित भएका र पूर्वमुख्यमन्त्री लालबाबु राउतको नेतृत्व दोहोरिने अवस्था नभएका बेला मुख्यमन्त्री बनेका यादव सरकारमा दरिलो भूमिका पाएका छन् ।
मुख्यमन्त्री यादव अघिल्लो कार्यकालमा तत्कालीन राजपा नेपालबाट प्रदेशसभा सदस्य निर्वाचित भएर सभामुख बनेका थिए । यसपालि भने उनी जसपा नेपालबाट प्रदेशसभा सदस्य निर्वाचित छन् । ‘सञ्जय पार्टी अध्यक्षका विश्वासपात्र हुन् र भोलि फरक परिस्थिति निर्माण हुँदा पाटी संसदीय दलका नेता नै बन्न सक्ने उम्मेदवार पनि । त्यसैले जसपा नेपाल अन्तिम समयसम्म सञ्जयको दायित्व परिवर्तन गर्न नपर्ने पक्षमा उभिनेछ,’ पार्टी स्रोतले भन्यो ।
यता माओवादी स्रोतका अनुसार संसदीय दलका नेता साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिने पक्कापक्की भएको छ । ‘केही विषयवस्तुको निपटारा गर्न बाँकी छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज जलेश्वरमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएकाले ढिलाइ भएको हो । अध्यक्ष यादव र मुख्यमन्त्री यादवबीच एक चरणको कुरापछि त्यस विषयमा अन्तिम परिणाम आउने छ,’ माओवादी स्रोतको कथन छ ।
स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी साहलाई दिइने भएमा अहिले अर्थ सम्भालिरहेका सञ्जयलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा र सिँचाइ तथा खानेपानी मन्त्री सिँहासन सा कलवारलाई रिक्त रहेको श्रम तथा यातायात मन्त्रालयमा लगिनेछ ।
यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको भने बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिने विषयमा उच्च तह(मुख्यमन्त्री) बाट कुनै पनि किसिमको गम्भीर छलफल नभएको भनाइ छ ।