भरत साहलाई रिक्त मन्त्रालयमध्ये एकको जिम्मेवारी दिन्छु : मुख्यमन्त्री यादव

२०८१ बैशाख १०, सोमबार ०९:२८
सरोजकुमार यादव, मुख्यमन्त्री, मधेश प्रदेश ।

टोलपडोस समाचारदाता
जनकपुरधाम, १० वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्री भरतप्रसाद साहको जिम्मेवारी भोलि (मंगलबार) तोकिने बताएका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहले गत वैशाख ६ गते बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए ।

मुख्यमन्त्री यादवले आफूसँग दुई मन्त्रालय रहेको र तीमध्ये कुनै एकको जिम्मेवारी साहलाई दिइने प्रस्ट्याए । सोमबार बिहान उनले टोलपडोससँग भने, ‘श्रम तथा यातायात र वन तथा वातावरण गरी दुई मन्त्रालय खाली छन् । भरतजीलाई यी दुईमध्ये एकको कार्यभार भोलिसम्म तोक्दैछु ।’

प्रदेशमा सत्ता नेतृत्व गर्ने दल जसपा नेपाल र मुख्यमन्त्री यादवको कार्यशैलीबाट असन्तुष्ट रहँदैआएका साहले संघीय सत्ता गठबन्धनको निर्देशनमा गत वैशाख ४ गते मुख्यमन्त्री यादवलाई शक्तिशाली मन्त्रालय पाउने सहमतिका साथ मुख्यमन्त्रीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

भरतप्रसाद साह ।

सहमतिविपरीत मुख्यमन्त्रीले आफूसँग रहेका श्रम तथा यातायात र वन तथा वातावरण मन्त्रालयमध्ये एक लिन जोडबल गरेपछि साहले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिई सत्तारुढ दलहरूबीच बृहत् सहमतिका आधारमा मात्र कार्यविभाजन गर्नुपर्ने बताएका थिए ।

वैशाख ६ गते साहसँगै शपथ लिएका उनकै पार्टीका युवराज भट्टराईले भने सोही दिन उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको जिम्मेवारी पाएका छन् । भट्टराईले पार्टीकै सुनिता यादवको भूमिका प्रतिस्थापन गरेका छन् ।

वैशाख ६ मा नै मन्त्री पदको शपथ लिएकी नेकपा (एकीकृत समाजवादी) की बेचन लुङ्गेलीको पनि विभाग तोकिन बाँकी छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH