मेला समापनको उद्घाटन गरे मुख्यमन्त्री यादवले

२०८१ बैशाख १०, सोमबार २२:००
सिरहाको लहानमा १० दिनसम्म चलेको ‘लहान एक्सपो’ को समापन कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री सरोजकुमार यादव । तस्बिर : मुख्यमन्त्रीको सञ्चार सचिवालय

सिरहा, १० वैशाख(रासस) । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पर्यटन व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारले लगानी गर्ने बताएका छन् । सिरहाको लहानमा आज १० दिनसम्म चलेको ‘लहान एक्सपो’ को समापन कार्यक्रममा मुख्यमन्त्री यादवले पर्यटक भित्र्याउनका लागि प्रदेश सरकारले आवश्यक लगानी र अनुकूल वातावरण सिर्जना गर्ने बताएका हुन् ।

“मधेश प्रदेश भारतजस्तो विशाल जनसङ्ख्या भएको मुलुकसँग सिमाना जोडिएको प्रदेश हो । भारतीयलाई पर्यटकका रूपमा भित्र्याउन के गर्न सकिन्छ, त्यसमा प्रदेश सरकार ध्यान दिन्छ,” उनले भने, “यहाँका पर्यटन व्यवसायी तथा उद्योगपति साथीहरूसँग समन्वय गर्न म तयार छु । कुन ठाउँ र कुन क्षेत्रमा काम गर्दा पर्यटक भित्रिन्छन्, त्यसमा प्रदेश सरकारले लगानी गर्नेछ ।”

उनले मधेश प्रदेशमा उद्योगव्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई सरकारले पूर्ण शान्तिसुरक्षा दिने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले लहानको बलान नदी नियन्त्रणका लागि तटबन्ध र रामकुमार–उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको जग्गा अस्पतालको नाममा आइसकेपछि सुविधासम्पन्न भवन निर्माणका लागि यसै आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने जानकारी दिए ।

देशमा सङ्घीयता ल्याउनमा लहानको महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री यादवले यहाँको सर्वपक्षीय निर्णयमा प्रदेशस्तरीय गौरवको जुनसुकै योजना कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य ललिता दास, जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो, लहान नगरप्रमुख महेशप्रसाद चौधरी, सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायतले मन्तव्य राखेका थिए ।

‘समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ गत चैत ३० गतेदेखि जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजनामा सञ्चालित ‘लहान एक्पो ः मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ आज विधिवत रूपमा समापन भएको छ ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH