‘अस्पताल ल्याइँदासम्म जीवितै थिए पत्रकार यादव’
टोलपडोस समाचारदाता
जनकपुरधाम, ११ वैशाख । इन्युज ब्युरो अनलाइन पोर्टलका कार्यकारी सम्पादक एवम् रेडियो धनुषाधामका सञ्चालक विनयकुमार यादवको धनुषामा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।
मिथिला नगरपालिका–६ स्थित ढल्केवर–जनकपुर सिक्स लेनमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका यादवको उपचारक्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
मिथिला नगरपालिकाकै लालगढबाट धनुषाधाम–५ नौसयबिघास्थित घर फर्किरहेका यादवले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल एक्कासि अनियन्त्रित भई मंगलबार बिहान ३ बजेर ५० मिनेटमा सडकको रेलिङमा ठोक्किएको थियो ।
मोटरसाइकलसहित रेलिङमा बजारिएपछि उनका टाउका र अनुहारमा चोट लागेको थियो भने मोटरसाइकलमा सवार भनिएका अर्का व्यक्ति धनुषाधाम–५ नौसयबिघाकै लक्ष्मीनारायण यादव भने सामान्य उछिट्टिएकाले घाइते भएका छन् ।
घटनास्थल ढल्केवर बजारबाट एक किलोमिटर दक्षिणमा नक्टाझिज र ढल्केवर जोड्ने पुलभन्दा उत्तरपट्टि छ ।
गाउँकै एक व्यक्तिको मृत्युभोजको तयारीका लागि एकाबिहान जुटेका स्थानीयका सूचनाका आधारमा पत्रकार यादव र लक्ष्मीनारायणलाई बिहान ४ बजेर १० मिनेटमा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोमा ५ बजेर ४० मिनेटमा पत्रकार यादवलाई चिकित्सकहरूले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रञ्जन आबाले बताए ।
घाइते लक्ष्मीनारायणको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
अन्त्यपरीक्षणका लागि पत्रकार यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
पत्रकार यादवको निधनले पत्रकारिता जगत शोकाकुल बनेको छ । टोलपडोस डटकमका सम्पादक अनिलकुमार कर्णले प्रादेशिक अस्पताल जनकपुरमा पुगी पत्रकार यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।