मटिहानीमा आगलागी : “आब केना जिबै ! या अल्लाह !”
२०८१ बैशाख १३, बिहीबार २०:४४
महोत्तरी, १३ वैशाख(रासस) ।
बुधबार दिउँसोको आगलागीबाट घरवारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् ।
बनिबुतो गरेर सञ्चय गरिएका अन्नपात, लुगाफाटा र भाँडाकुँडासहित घर जलेर खरानी भएपछि अब जहानपरिवार कहाँ लिएर जाने र कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ । अर्काका काम र खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन् । फर्मुद सुस्केरा हाल्दै भने, “आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !”
मैमुन परिवारमा मात्रै होइन घरवारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ । ती परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा ।
“कुछो बच नइ सकल, सब जैर गेल (घरका केही सामान बचेनन्, सबै जले)”, बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्छिन्, “आब परिवारके कोना गुजारा चलत (अब परिवारको गुजारा कसरी चल्ला !” बुधबार लखनदेवी उपचारका लागि भारतको सीतामढी गएकी थिइन् । घर फर्कँदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेपछि बेहोस भएकी उनलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौंको थातथलोमा खरानीको थुप्रोमात्र देखेर अझै बेचैन छिन् ।
अधिकांश मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोबास रहेको जरलहवागाछी विपन्नहरूको बस्ती हो । त्यही बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रूप लिँदै एक सय १० घर पूर्ण रूपमा जलेर खरानी बनायो । आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ ।
सो घटनामा पाँचवटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएको नगरप्रमुख मण्डल बताउँछन् ।
मध्याह्नतिर सल्केको आगो हावाको बहावसँगै तीव्र गतिमा बस्ती पसेको थियो । सो आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म सङ्घर्ष गर्नुपरेको थियो ।
आगो निभाएलगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई चिउरा, सख्खरसहितका तयारी खानेकुरा, ओतका लागि त्रिपाल र नेपाल रेडक्रस सोसाइटी महोत्तरीले बाल्टिन र जग उपलब्ध गराएको थियो । आज अन्य सङ्घसंस्था, समाजसेवी र स्थानीय व्यापारीले सहयोग प्रदान गरेका छन् ।
यसैगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, मनकारी व्यक्तिहरू र विभिन्न निकायसँग अपिल गरिएको बताए ।