जनकपुरधाम : कानुन मिचेर मेयर र उनका पिएले किने महँगा मोबाइल फोन
मोबाइल फोन किन्नेमा उपमेयर र प्रमुख प्रशासकीय अधिकृत पनि
टोलपडोस समाचारदाता
जनकपुरधाम, १४ वैशाख ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले कानुनविपरीत सरकारी रकम खर्चेर खरिद भएको महँगो मोबाइल फोन प्रयोग गर्नेगरेका पाइएको छ ।
उपमहानगरपालिकाले गत आर्थिक वर्षमा चौरासी हजार ७१ रुपैयाँमा खरिद गरेको सामसुङ टवान्टी प्लस मोबाइल नगरप्रमुख साहले प्रयोग गर्दैआएका छन् ।
पालिका पदाधिकारीले प्राप्त गर्ने सेवासुविधाबारे सम्बन्धित प्रदेशसभाले बनाएको कानुनअनुसार हुने व्यवस्था छ । मधेश प्रदेशसभाले बनाएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी ऐनमा पालिका प्रमुख वा अन्य पदाधिकारीले मोबाइल फोनको सुविधा पाउनेबारे उल्लेख छैन ।
जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्यपालिकाले समेत जनप्रतिनिधि र कर्मचारीका हकमा त्यस्तो सुविधा पाउनेगरी मापदण्ड तयार तथा निर्णय गरेको छैन ।
महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/२०८० को प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनका अनुसार उपप्रमुख किशोरी साहका लागि दुईवटा मोबाइल फोन खरिद गरिएका छन् । उपप्रमुख साहले उन्नासाठी हजार दुई सय बयानब्बे रुपैयाँमा वान प्लस नार्ड 256 र दुई हजार छ सय ५४ रुपैयाँको सामसुङ बी 3151 प्रयोग गरिरहेका छन् ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले आफ्ना लागि एकचालिस हजार पाँच सय ९३ रुपैयाँमा भिभो भी २ बीइ 8/256 मोबाइल फोन खरिद गरेका छन् ।
नगरप्रमुख साहका सचिव मनोजकुमार महतोले एकसट्ठी हजार नौ सय ४७ रुपैयाँको ओनर ७० मोबाइल लिएका छन् ।
प्रतिवेदनले स्थानीय तहका पदाधिकारीले निजी सचिव राख्ने व्यवस्था स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाका सम्बन्धमा बनेको ऐन २०७७ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नरहेको भन्दै निजी सचिव भनिएका महतोबाट २०८० फागुनदेखि असारसम्मको तलब दुई लाख अठार हजार चार सय ४५ रुपैयाँ असुलउपर गर्न भनेको छ ।
प्रतिवेदनले मोबाइल फोन खरिदलाई सैद्धान्तिक बेरुजु भनेको छ । रकमको लगत नरहने सैद्धान्तिक बेरुजु प्रणालीगत र नीतिगत समस्याका कारण औंल्याउने गरिन्छ । सम्बन्धित संस्थाको आर्थिक प्रशासन र सुशासन कमजोर भएका बेला यस्ता बेरुजु बढी हुने गर्दछ ।