जनकपुरधाम उपमहानगरपालिका : केशरिया गम्छा खरिदमा पनि घोटाला !

२०८१ बैशाख १४, शुक्रबार १०:०६
सुमन कार्की, प्रमुख प्रशासकीय अधिकृत, जनकपुरधाम उपमहानगरपालिका

टोलपडोस समाचारदाता
जनकपुरधाम, १४ वैशाख ।
जनकपुरधाम उपमहानगरपालिकाले केसरिया रङ्गको एउटा गम्छा तीन सय ५९ रुपैयाँमा खरिद गरेको छ । यस्तो गम्छाको बजारमूल्य(खुद्रा) प्रतिगोटा दुई सय पचास रुपैयाँ पर्छ भने बढी सँख्यामा खरिद गर्दा प्रतिगम्छा एक सय नब्बे रुपैयाँ पर्ने स्थानीय एक व्यापारीले बताए ।

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा अतिथि सत्कारका लागि भन्दै विविध शीर्षकबाट तीन सय ५९ रुपैयाँ ३४ पैसाका दरले प्रयुष जेनरल अर्डर सप्लायर्सबाट दुई हजार पाँच सय केशरिया गम्छा खरिद गरेको छ ।

महालेखापरीक्षक प्रतिवेदनले आर्थिक वर्ष २०७९ /२०८० मा खरिद भएको सो गम्छाबापत तिरिएको आठ लाख ९८ हजार तीन सय ५० रुपैयाँ खर्चको पुष्टि नभएको औंल्याएको छ । प्रतिवेदनमा त्यस खरिद कार्यको उचित छानबिन गरी खरिद भएको भए वितरणको भर्पाइ पेस गर्नुपर्ने अन्यथा वितरणमा संलग्न पदाधिकारीलाई जिम्मेवार बनाई असुलउपर गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिवेदनमा स्रेस्ता परीक्षणका क्रममा जिन्सी निरीक्षण गर्दा सो सामान भण्डारमा नरहेको र साथै त्यसको वितरणको भर्पाईसमेत नरहेकाले गम्छा खरिद भएको आश्वस्त हुन नसकिएको जनाइएको छ ।

सरकारी साधनस्रोतबाट सामान खरिद गर्दा प्रत्येक समारोह र अतिथि सत्कारका कार्यमा कति सामान चाहिन्छ भनी संस्थागत निर्णय गरी सो निर्णयका आधारमा एकमुष्ठ खरिद प्रक्रिया अपनाउनुपर्नेमा केशरिया गम्छा खरिदमा त्यस्तो नभएको प्रतिवेदनमा लेखिएको छ ।

प्रतिवेदनले खरिद कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७६ को नियम ३९(५) सरकारी रकम खर्च गर्दा त्यस्तो रकम पुष्टि गर्ने बिल, भपाई, प्रमाण र कागजात संलग्न हुनुपर्ने स्पस्ट पारेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले लेखा परीक्षणका बेला प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की नरहेकाले बेरुजु नहुनुपर्ने रकम बेरुजु लेखिन पुगेको र त्यसलाई नियमित गर्न कानुनअनुसार प्रक्रिया अघि बढाइने बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH