भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

२०८१ बैशाख १४, शुक्रबार १५:४७

टोलपडोस समाचारदाता
जनकपुरधाम, १४ वैशाख ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.६७४ करोड आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको The Embankment and Launching Apron Dhungre Khola River Training Works परियोजनाको आज खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा स्थानीय समुदायका मानिसहरूका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवम् नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको हो । यो परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको छ ।

यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रूपमा रहेको छ ।

कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर खनिया र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।

यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छाड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपत्विरुद्घ जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा १०६ वटा परियोजना छन् जसमा ९ वटा परियोजना चितवनमा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ जसमध्ये बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९९ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ । यसमा १७ वटा एम्बुलेन्स र ५ वटा स्कुल बस चितवन जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि नेपालको प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको पनि उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH