जनकपुरधाम उपमहानगरपालिका : मेयर साहको हेलचेक्रयाइँले १६ करोड फिर्ता
टोलपडोस समाचारदाता
जनकपुरधाम, १५ वैशाख ।
मेयर मनोजकुमार साहको हेलचेक्रयाइँले जनकपुर विकासका लागि आएको १६ करोड रुपैयाँ गुमेको खुलासा भएको छ । जनकपुरधामस्थित रङ्भूमि (बाह्रबिघा) व्यवस्थापन तथा सौन्दर्यीकरणका लागि मधेश प्रदेश सरकारले जनकपुरधाम उपमहानगरपालिकालाई गत आर्थिक वर्षमा १६ करोड उपलब्ध गराएको थियो ।
तर, सरोकारवालाहरूसँग समन्वय तथा निर्धारित समयावधिभित्र कामका लागि प्रक्रिया अघि बढाउन नसक्दा सो रकम प्रदेश सरकारलाई फिर्ता भएको थियो ।
लालबाबु राउत मुख्यमन्त्री भएका बेला जनकपुरधाम उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिका विकासका लागि प्राधिकरण गठन गर्ने प्रदेश सरकारले विनियोजन गरेको २०–२० करोड रकम मुख्यमन्त्री सरोजकुमार यादवले विशेष निर्णय गरी स्थानीय तहमै पठाएका थिए ।
विकास प्राधिकरण गठन हुँदा विनियोजित बजेटको ठूलो हिस्सा कार्यालय, सवारीसाधन, जनशक्ति आदि व्यवस्थापन तथा अन्य प्रशासनिक कार्यमा खर्च हुने र सोही कारणले विकास बजेट बाँडिने भन्दै मुख्यमन्त्री यादवले स्थानीय तहलाई सोझै रकम पठाई काम गर्ने टुङ्गोमा पुगेका थिए ।
मुख्यमन्त्री यादवले एउटै टिप्पणी र एउटै निर्णयबाट वीरगन्ज महानगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिकालाई २० प्रतिशत कट्टा गरी १६–१६ लाख रकम पठाइए पनि वीरगन्जले काम सकाएको तर जनकपुरधाम उपमहानगरपालिकाले काम गर्न नसक्दा रकम फिर्ता भएको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले रकम असार ३ गते आएकाले खुद्रा काममात्र गर्न सक्ने अवस्था मात्र रहेको तर आफू ठोस काम गराउने पक्षमा रहेको र त्यसका लागि समय अपुग भएको हुँदा रकम फ्रिज भएको जानकारी दिए ।
उपमहानगरपालिकाकाका एक अधिकारीले भने प्रमुख साहले कामका लागि समयमा योजना बनाउन नसकेका र आवश्यक पूर्वतयारी गर्न नसकेकाले रकम फ्रिज भएको आरोप लगाए ।