भरत साहको अर्थमन्त्री बन्ने सपना तुहिँदै, वन तथा वातावरणको कार्यभार तोकिँदै
टोलपडोस समाचारदाता
जनकपुरधाम, १५ वैशाख ।
मधेश प्रदेश सरकारका बिनाविभागीय मन्त्री भरतप्रसाद साहको कार्यभार तोकिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार बिनाविभागीय मन्त्री साहलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोक्ने भएका हुन् ।
मुख्यमन्त्री यादवले बिनाविभागीय मन्त्री साहलाई रिक्त वन तथा वातावरण मन्त्रीको कार्यभार आइतबार तोकिने जानकारी टोलपडोसलाई दिए ।
मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहले गत वैशाख ६ गते बिनाविभागीय मन्त्री पदको शपथ लिएका थिए । उनीसँगै माओवादी केन्द्रकै युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको शपथ लिएका थिए ।
पछिल्लोपटक नेकपा माओवादी केन्द्रका साह र भट्टराई मन्त्री बनिरहँदा सोही पार्टीकी मन्त्री सुनिता यादवको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयबाट बहिर्गमन भएको थियो ।
वैशाख ६ मै बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएकी नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेलीलाई गत मंगलबार श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले वैशाख ४ गते चौथोपटक विश्वासको मत लिएका थिए । मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बेलामा अर्थ मन्त्रालयसहित प्रभावशाली मन्त्रालय पाउनेगरी सहमति भएको नेकपा माओवादी केन्द्रले दाबी गर्दैआएको छ ।
तर, पटकपटक संघीय सत्ता समीकरण बदलिरहँदा पनि मुख्यमन्त्रीमा निरन्तरता पाएका यादवले वैशाख ६ को शपथग्रहणपछि माओवादी र एकीकृत समाजवादीलाई रिक्त मन्त्रालय दिने बताउँदै आएका थिए ।
केही महिनाअघि जनमत पार्टीले सरकार छाडेपछि श्रम तथा यातायात मन्त्रालय र चौथोपटक मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा सरकार छाडेका लोसपा नेपालका कारण रिक्त भएको वन तथा वातावरण मन्त्रालय नै बिनाविभागीय मन्त्रीहरूलाई दिइने मुख्यमन्त्री यादवले भन्दै आएका थिए ।
बिनाविभागीय मन्त्री साहले खोजेको अर्थमा मुख्यमन्त्री यादव संसदीय दलका नेता रहेको जसपा नेपालकै सञ्जयकुमार यादव मन्त्री छन् । सञ्जय जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका विश्वासिलो मानिन्छन् ।