जनकपुरधाम उपमहानगर : लामखुट्टे मार्ने औषधि खरिदमा पनि लुटखसोट
टोलपडोस समाचारदाता
जनकपुरधाम, १६ वैशाख ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयले लामखुट्टे नियन्त्रणका लागि छर्कने रसायन तयार गर्न आवश्यक डिजेल खरिदमा समेत अनियमितता गरेको छ ।
लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकालाई नियन्त्रण गर्न खास अनुपातमा मालाथिन र डिजेल मिश्रित रसायन तयार गरी मेसिनमार्फत छिट्ने गरिन्छ । जिल्ला स्वास्थ्य कार्यालय धनुषाले एक लिटर मालाथिनमा आठ लिटर डिजेल मिसाई डेंगुरोग नियन्त्रणका लागि रसायन छर्कन उपमहानगरपालिकालाई पत्र लेखेको छ । त्यसअनुसार गत आर्थिक वर्षमा उपमहनगरपालिका कार्यालयले एक लिटर डिजेलमा १२५ ग्राम मालाथिन मिसाई रसायन छर्कने निर्णय गरेको थियो ।
सोही आर्थिक वर्षमा उपमहानगरपालिका कार्यालयले अनुपातविपरीत बढी परिमाणमा डिजेल खरिद गरी लामखुट्टेविरुद्धको रसायन छर्केको भन्दै जनकपुरधामस्थित भि आयललाई डिजेलबापतको भुक्तानी दिएको छ ।
रसायन छर्किँदा आवशयक्ताभन्दा ७ हजार ७ सय ५३ लिटर बढी डिजेल खरिद गरिएको भन्दै १३ लाख ४१ हजार ३२६ रुपैयाँ भि आयललाई भुक्तानी दिइएको छ । महालेखा परीक्षकको कार्यालयले मापदण्डविपरीत बढी डिजेल खरिद गरी भुक्तानी दिइएको सो रकम खर्च लेख्ने पदाधिकारीलाई जिम्मेवार बनाई असुलउपर गर्न भनेको छ ।
गत आर्थिक वर्षमा पालिकाले ७ सय १२ रुपैयाँका दरले कुल २ सय ६८ लिटर मालाथिन खरिद गरेको थियो । मापदण्डअनुसार एक लिटर मालाथिनमा आठ लिटर डिजेल मिसाउँदा २ हजार १ सय ४४ लिटर डिजेलमात्र लाग्ने देखिन्छ । तर, सो कार्यका लागि उपमहानगरपालिकाले ९ हजार ८ सय ९७ दशमलव ३३ लिटर १७ लाख १२ हजार २ सय ३६ रुपैयाँ भि आयललाई भुक्तानी दिएको थियो ।
लामखुट्टेविरुद्धको रसायन तयार गर्दा जिल्ला स्वास्थ्य कार्यालय धनुषाले दिएको मालाथिन र डिजेल अनुपात अन्य ठाउँको अभ्यासभन्दा बढी छ ।