जनकपुरधाम उपमहानगरपालिका : कमिसन कुम्ल्याउन ग्यास सिलिन्डर र चुल्हो खरिद

२०८१ बैशाख १६, आईतवार ११:०९

बाँडिएनन् ८५ सिलिन्डर र ८५ चुल्हो

तस्बिर : प्रतीकात्मक

टोलपडोस समाचारदाता

जनकपुरधाम, १६ वैशाख ।

जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षमै खरिद गरेको ग्यास सिलिन्डर तथा ग्यास चुल्हो अझै वितरण गरेको छैन । वास्तविक बजार मूल्यभन्दा बढीमा खरिद गरेर कमिसन कुम्ल्याउन उपमहानगरपालिकाले अनावश्यक वस्तु खरिद गर्ने तर तिनलाई वर्षौँसम्म भण्डारमा थन्क्याउने गरेको आशंकालाई पछिल्लो खरिदले पुष्टि गरेको छ ।

महालेखापरीक्षक प्रतिवेदनले उपमहानगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको ग्यास सिलिन्डर ८५ थान र ग्यास चुल्हो ८५ थान वितरण भएका छैनन् ।

आपूर्ति योजना नबनाई, आवश्यक नपर्ने र चाहिनेभन्दा बढी वस्तु खरिद गर्दैआएको उपमहनगरपालिका कार्यालयले राघव जनरल सप्लायर्सबाट ४ लाख ६३ हजार २ सय ५० रुपैयाँमा खरिद गरेको ती सामग्री वर्ष दिनपछि भण्डारमै थान्कोमुन्को लगाएको छ ।

सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन २०७५ को बुँदा नम्बर ५ मा सार्वजनिक निकायहरूका लागि आवश्यक पर्ने वस्तु तथा सेवा आपूर्ति भण्डार र वितरणलाई पारदर्शी, मितव्ययी र अनुमानयोग्य बनाउने आवश्यक वस्तुको खरिद गर्ने, भण्डार गर्ने, चाहिनेभन्दा बढी वस्तु खरिद गरी वितरण नगर्ने, आपूर्ति योजना नबनाई खरिद गर्ने, आवश्यक नपर्ने मेसिन उपकरण खरिद गर्ने कार्य अविलम्ब रोक्नुपर्ने उल्लेख छ ।

महालेखापरीक्षक प्रतिवेदनमा ग्यास चुल्हो र ग्यास सिलिन्डर आवश्यक्ताबेगर खरिद गरिएको र यसले सरकारलाई व्ययभार परेको उल्लेख छ ।

प्रतिवेदनले सो खरिद कार्यमा संलग्नहरू र दामकाम गर्नेहरूलाई जिम्मेवार बनाई सामान वितरणको प्रमाण पेस गर्न भनेको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH