भरत साहले वन तथा वातावरण मन्त्रीको कार्यभार नसम्हाल्ने

२०८१ बैशाख १६, आईतवार १४:३६
मधेश प्रदेशका मन्त्री भरतप्रसाद साह

टोलपडोस समाचारदाता
जनकपुरधाम, १५ वैशाख ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्री भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका छन् ।

आइतबार मुख्यमन्त्री यादवले मन्त्री रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा बिनाविभागीय मन्त्री साहलाई मन्त्रिपरिषद्को तेस्रो वरीयतामा राख्दै कार्यभार तोकेका हुन् ।

मुख्यमन्त्री यादवले तोकेको कार्यभारबाट आफू सहमत नरहेको नेकपा माओवादी संसदीय दलका नेतासमेत रहेका मन्त्री साहले बताए । उनले तोकिएको मन्त्रालयमा आफूले कार्यभार नसम्हाल्ने जानकारी दिए । उनले कार्यभार तोकिएका विषयमा पार्टी नेतृत्व र साथीसङ्गातीसँग सल्लाह गरेर अघि बढ्ने जानकारी पनि दिए ।

नेकपा माओवादी संसदीय दलका नेता साहले गत वैशाख ६ गते बिनाविभागीय मन्त्री पदको शपथ लिएका थिए । वैशाख ४ मा मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिएपछि पुनर्गठन गरेको मन्त्रिपरिषद्मा साहसँगै नेकपा(एकीकृत समाजवादी) की बेची लुङ्गेलीले पनि बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।

लुङ्गेलीलाई गत बुधबार श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी तोकिएको छ । शुक्रबार उनले मन्त्रालयको कार्यभारसमेत सम्हालिसकेकी छिन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने बेलामै नेकपा माओवादी केन्द्रलाई अर्थसहित केही शक्तिशाली मन्त्रालय दिने सहमति गरेका र त्यसअनुसार मन्त्रालय दिन आनाकानी गरिरहेको आरोप लगाउँदै नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहले कार्यभार लिन मानेका थिएनन् ।

साहले बिनाभिागीय मन्त्रीको शपथ लिएकै दिन माओवादी केन्द्रका युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको शपथ लिएका थिए । भट्टराई मन्त्री बनेसँगै सोही पार्टीकी मन्त्री सुनिता यादवको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयबाट बहिर्गमन भएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH