जनकपुरधाम उपमहानगरपालिका : बारुणयन्त्र खरिदमा महाघो’टाला
३२ स्पेसिफिकेसनमा २२ विषयमात्र मिलान गर्ने टेन्डर स्वीकृत
टोलपडोस समाचारदाता
जनकपुरधाम, १६ वैशाख ।
नगरप्रमुख मनोजकुमार साहको कार्यकाल आरम्भमै जनकपुरधाम उपमहानगरपालिकाभित्र अनियमितता, भ्रष्टाचार र अप्रमाणिक काम गर्नेजस्ता अन्य बेथिति मौलाएको देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले गत आर्थिक वर्षको प्रारम्भिक प्रतिवेदनमा उपमहानगरमा भएका थुप्रा सैद्धान्तिक र लगती बेरुजु औंल्याएको छ ।
प्रतिवेदनमा रीत नपुर्याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको, अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको, आर्थिक कारोबारमा त्रुटि वा हानीनोक्सानी हुन गई कुनै निश्चित पक्षबाट घटी आय वा बढी व्यय हुन गएको कारणबाट निश्चित रकम असुल उपर गरेर वा नियमित गरेर वा प्रमाण कागजात पेस गरेर फस्र्योट गर्ने र नीतिनियम तथा कार्यप्रणालीमा देखिने कमजोरी लगायत बेरुजु औंल्याइएका छन् ।
आर्थिक वर्ष २०७९ २०८० को महालेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनले उपमहानगरपालिकाले बारुणयन्त्र खरिद गर्दा प्राविधिक स्पेसिफिकेसनमा उल्लिखित मापदण्डअनुसार कम विषय मिलान गरेको फर्मबाट लागत अनुमानकै हाराहारीमा पेस भएको प्रस्ताव स्वीकृत गरिएको भन्दै ८९ लाख ९० हजार रुपैयाँ अनियमित भएको ठहर गरेको छ ।
उपमहानगरपालिकाले बारुणयन्त्र खरिदका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको थियो । बारुणयन्त्र खरिदका लागि बजेटकै हाराहारीमा लागत अनुमान तयार गरिएको छ । म्याप इन्टरनेशनलले न्यूनतम कबोल गर्दा ८९ लाख ९० हजार उल्लेख गरेको छ । बारुणयन्त्रका लागि ० दशमलव ११ प्रतिशत न्युनमा कबोल गर्ने म्याप इन्टरनेशनलकै प्रस्ताव स्वीकृत भएको छ ।
बारुणयन्त्र खरिद कार्यको स्पेसिफिकेसनमा बारुणयन्त्रको ४ हजार ५ सय लिटर वाटर ट्यांक, ५ सय कोय क्षमता, ह्विलबेस(४००–५४००), एमएन, जिमि डब्ल्यु Not less than १६ हजार किलो लगायतका ३२ वटा विषय खुलाई बोलपत्र गरिएको थियो । तर, मेकानिकल इन्जिनियरले गरेको मूल्यांकनमा २२ वटा विषयमात्र स्वीकृत प्रस्ताव मापदण्डअनुसार भएको उल्लेख छ ।
स्पेसिफिकेसनअनुसार २२ वटा मापदण्डमात्र पुरा हुँदा समेत बालपत्रको प्राविधिक पक्षलाई स्वीकार गरी बारुणयन्त्र खरिद कार्य गरिएको छ ।
प्राविधिक स्पेसिफिकेसनमा ३२ वटा विषयमा पूर्णता भएमा मात्र आर्थिक प्रस्तावका लागि ग्राह्य भएको प्रावधान राखिए पनि खरिदका छनोट भएको फर्मका २२ वटा विषयमा मात्रै स्पेसिफिकेसन मिलेको देखिएको छ ।
टेन्डर डकुमेन्टमा ३२ वटा विषयमा स्पेसिफिकेसन तोकेर कतिपय सम्भावित प्रतिस्पर्धी फर्महरूले ठेक्कामा भाग लिन नसक्ने बनाइएको थियो । महालेखापरीक्षक प्रतिवेदनले त्यसबाट प्रतिस्पर्धामा नकारात्मक असर परेको औंल्याएको छ ।
बारुणयन्त्रको लागत अनुमान तयार गर्दा तीनवटा दररेटलाई आधार लिइएको छ । अन्य सरकारी कार्यालयले खरिद गरेको दरसमेतलाई आधार लिई लागत अनुमान तयार गरिएको छैन ।