जनकपुरधाम उपमहानगरपालिका : भाडामा जेसिभी लिएर अनियमितता
खर्च गर्नेसँग दस लाख रुपैयाँभन्दा बढी असुल्न निर्देशन
टोलपडोस समाचारदाता
जनकपुरधाम, २० वैशाख ।
जनकपुरधाम उपमहानगरपालिकासँग दुईवटा जेसिभी छन् । पर्वतिहारबाहेकका बेला ती दुवै जेसिभी पूर्ण क्षमतामा कहीँकतै काम गरेका देखिँदैनन् । उपमहानगरपालिकाले जेसिभी भाडामा लगाएको पनि छैन । अर्थात् झट्ट हेर्दा उपमहानगरपालिकाले जेसिभी भाडामा लिनुपर्ने कारण छैन । तर, गत आर्थिक वर्षमा उपमहानगरपालिकाले जेसिभी भाडामा लिएको भन्दै दस लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
महालेखापरीक्षकको कार्यालयले व्यवसायीसँग जेसिभी भाडामा लिई नगरका विभिन्न ठाउँमा सरसफाइ गरिएको भन्दै १० लाख ४ हजार ८ सय ५९ रुपैयाँ भुक्तानी गरेकाबाट असुलउपर गर्न भनेको छ । गत आर्थिक वर्षको महालेखापरीक्षको प्रारम्भिक प्रतिवेदनमा खर्चसम्बन्धित दामकामसहित गर्नेलाई जिम्मेवार गराइ सो रकम असुलउपर गर्ने भनिएको छ ।
११ व्यवसायीसँग भाडामा लिइएका जेसिभी सञ्चालन गर्दा अपरेटर बुक पेस गरिएको छैन ।
पालिकामा आफ्नै दुईवटा जेसिभी रहेको र ती जेसिभी सञ्चालन गरेबापत वार्षिक २१ लाख ८० हजार ६ सय ६५ रुपैयाँ रहेको देखिन्छ । जेसिभी भाडामा लिएर गरिएका कार्यक्रम नखुलेको र त्यससम्बन्धी कार्यालयको संस्थागत निर्णय समेत नभएकाले पालिकामा बाहिरबाट निरन्तर जेसिभी भाडामा लिनुपर्ने कारण नखुलेकाले रकम असुलउपर गरिनुपर्ने महालेखापरीक्षक प्रतिवेदनमा उल्लेख छ ।
उपमहानगरपालिका कार्यालयका प्रवक्ता परमेश झाले जेसिभीलगायत सवारीसाधन भाडामा दिने प्रावधान भएको बताए । तर, गत आर्थिक वर्षमा जेसिभी भाडाबापत उपमहानगरपालिकालाई रकम प्राप्त नभएको महालेखा परीक्षक प्रतिवेदनले जनाएको छ ।