जनकपुरधामका थेत्तरो मेयर : विशेष सरसफाइको एक करोडभन्दा बढी खर्चको दिएनन् हिसाब

टोलपडोस समाचारदाता
जनकपुरधाम, २० वैशाख ।
विशेष सरसफाइका नाउँमा जनकपुरधाम उपमहानगरपालिकाले डोर हाजिरीमा मानिस भर्ना तथा जेसिभी र ट्रयाक्टर भाडामा लिई गरी सरकारी रकमको अनियमित खर्च गरेको पाइएको छ ।
दसैं, तिहार, छठ र विवाहपञ्चमी समेतका लागि विशेष सरसफाइ कार्यक्रमअन्र्गत उपमहानगरपालिका कार्यालयले गत आर्थिक वर्षमा एक करोड पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो । गत आर्थिक वर्षमा विनियोजित सबै रकम खर्च भएको जनाइएको छ ।
महालेखापरीक्षक प्रतिवेदनअनुसार उपमहानगरपालिका कार्यालयमा एक सय तीन जना कुचिकार र सफाइकर्मी हुँदाहुँदै विशेष सरसफाइका लागि थप व्यक्तिलाई डोर हाजिरीमा खटाई खर्च गरिएको थियो भने दुईवटा जेसिभी र २६ वटा ट्रयाक्टर गत आर्थिक वर्षमा सोही कामका लागि भाडामा लिइएको थियो ।
अन्य बेला जेसिभी भाडामा लिएर नगर सरसफाइ गर्ने प्रयोजनले गरिएको १० लाख ४ हजार ८ सय ५९ रुपैयाँ र पालिकासँग उपलब्ध दुई जेसिभीका लागि गरिएको वार्षिक इन्धन खर्च २१ लाख ८० हजार ६ सय ६५ खर्च भने अन्य शीर्षक अन्तर्गत बेहोरिएको छ । अर्थात् विशेष सरसफाइमा विनियोजित एक करोड पाँच लाख रुपैयाँमा अन्य नियमित र आकस्मिक सरसफाइको खर्च जोडिएको छैन ।
महालेखापरीक्षकको कार्यालयले पालिकामा सरसफाइका लागि त्यति बढी सँख्यामा कुचिकार र साधन हुँदाहुँदै डोरहाजिरीमा अन्य व्यक्ति र भाडामा साधन लिन आवश्यक नरहेको औंल्याउँदै कुन कुन ठाउँमा कति क्षेत्रफलमा विशेष सरसफाइ भएको स्पस्ट नखुलेकाले सो रकमलाई अनियमित उल्लेख गरेको छ ।
दसैँ तथा छठलगायतका पर्वमा पूजाअर्चना स्थलमा उपमहानगरपालिकाको सामान्य समन्वयमा स्थानीय संघसंस्थाले नै सरसफाइ व्यवस्थापन गर्दैआएको छ भने विवाहपञ्चमी लगायतका मेलामा विशेष सरसफाइ नै भएको नगरवासीलाई सम्झना छैन ।