जसपा नेपाल सरकारबाट अलग्गिने छैन : प्रवक्ता सुमन

२०८१ बैशाख २५, मंगलवार १६:१९


टोलपडोस समाचारदाता
काठमाडौं, २५ वैशाख ।
पार्टी चोइटिएपछि जनता समाजवादी पार्टी नेपालको काठमाडौंमा उपलब्ध पदाधिकारी एवम् सदस्यसहित केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ । बुधबार अपराह्न बस्ने सो बैठकअघि बिहान पार्टी कार्यकारिणी समिति बैठक बस्नेछ ।

पार्टी विभाजनसँग जोडिएका घटनाक्रमलाई लिएर पार्टीको धारणा सार्वजनिक गर्न कार्यकारिणी समिति बैठकपछि बुधबार नै पत्रकार सम्मेलन गरिने पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

प्रवक्ता सुमनले पार्टी विभाजनमा अन्य कुनै पक्षको संलग्नता हुने पुष्टि हुने तथ्य र प्रमाण नभएकाले कसैमाथि दोषारोपण नगर्ने भन्दै पार्टीबाट अलग्गिएकाहरूले नै आगो बालेको प्रारम्भिक निष्कर्षमा आफूहरू पुगेको बताए ।

उनले दल विभाजनसम्बन्धी कानुनी रिक्तताका बेला निर्वाचन आयोगले पार्टीबाट अलग्गिएकाहरूलाई हठात् मान्यता दिएको विषयमा कानुनी उपचार खोज्ने बताए ।

प्रवक्ता सुमनले सरकारलाई दिएको समर्थन पार्टीले कायम नै राखिरहेको जानकारी दिँदै सरकारमा सहभागिताले निरन्तरता पाउने विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताए । उनले भने, ‘ताली एक हातले बज्दैन ।’

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH