प्रहरी उपरीक्षक तिवारीको त्वरित कारबाही : मत्थर भयो बिहाघरको ध्वनि आतङ्क

२०८१ बैशाख २७, बिहीबार १०:५९
भुवनेश्वर तिवारी, प्रमुख एवम् उपरीक्षक, जिल्ला प्रहरी कार्यालय धनुषा

टोलपडोस समाचारदाता
जनकपुरधाम, २७ वैशाख ।
बिहाबारीको मौसम हो । बिहाघरमा उत्साह, उल्लास र उमङ्ग हुनु स्वाभाविक नै हुन्छ । तर, जनकपुरधाममा छोराछोरीको विवाहका बेला अनुभूत गरिने प्रसन्नताको अभिव्यक्ति भद्दा र अभद्र तरिकाले गर्ने अभ्यास रहँदैआएको छ ।

टोलछिमेकमा दीर्घरोगी हुनसक्ने, छात्रछात्राले पठनपाठन गर्नुपर्ने, अन्य व्यक्तिले शान्त वातावरणमा घर तथा कार्यव्यवहार गर्नुपर्ने दैनिकीलाई बेवास्ता गर्दै बिहाघरमा चर्को स्वरमा गीतसङ्गीत बजाउने गरिएको छ ।

मूलतः अश्लील र द्विअर्थी भोजपुरी भाषाका तथा हिन्दी गीतहरू चर्को स्वरमा बजाएर चारैतिर ध्वनि आतङ्क मच्चाउनेहरूको सँख्या दिनानुदिन बढ्दै गएको छ ।

स्थानीय प्रहरीप्रशासन समेतको आग्रहलाई उपेक्षा गर्दै बिहाघरका मूलीहरूले चर्को स्वरमा ‘गानाबजाना’ गर्दा समाजमा प्रतिष्ठा र धाक बढ्ने बुझाइमा चर्को ध्वनिबाट अर्काले भोग्नुपर्ने दुःख र सास्तीका कुरा बुझ्न चाहँदैनन् । यस्तो ध्वनि उपद्रो नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिधिले चासो लिएका छैनन् । अझ् त्यस्ता वैवाहिक कार्यक्रममा सहभागी भएर ठूल्ठूला स्वरमा गीत घन्काउनेहरूको हौसला बढाइ गर्नेगर्छन् ।

तर, बिहीबार एकाबिहानदेखि जनकपुरधाम उपमहानगरपालिकास्थित शिवचोक क्षेत्रमा चर्को गीत घन्काइरहेको एउटा बिहाघरको छतबाट साउन्ड बक्सलगायत सामग्री तल झारेको छ । चर्को ध्वनिले आजित भएका स्थानीयको गुनासोपछि धनुषाका प्रहरी प्रमुख एवम् उपरीक्षक भुवनेश्वर तिवारीले तत्काल प्रहरी खटाइ ध्वनि प्रदूषण नियन्त्रण गर्न लगाएका छन् ।

जानकी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सन्तोषकुमार बुढाथोकीले प्रहरी उपरीक्षक तिवारीको निर्देशनलगत्तै बिहाघरमा तत्काल पुगेर अरूलाई बाधा नपुग्नेगरी गीत बजाउन घरमूलीलाई चेताइएको बताए ।

प्रहरीको चेतावनीपछि अहिले शिवचोक क्षेत्रस्थित त्यस घरमा चर्को स्वरमा गीत बजाउन बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH