मधेश प्रदेश : चिनियाँ राजदूत सहभागी कार्यक्रमबाट हतारमा बाहिरिए एमालेका मन्त्रीहरू

२०८१ बैशाख २७, बिहीबार ११:३९


टोलपडोस समाचारदाता
जनकपुरधाम, २७ वैशाख ।
चाइना एडको सहयोगमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत महामारी रोकथाम तथा पुनःस्थापनाका लागि दुर्गम क्षेत्रका विद्यालय र समुदायलाई सहयोग परियोजनाका एक कार्यक्रममा सहभागी हुन सर्लाही पुगेका मधेश प्रदेशका तीन मन्त्री कार्यक्रम बीचमै छाडी हिँडेका छन् ।

जिल्लाको बरहथवा नगरपालिका–३ हजरियास्थित श्री सरस्वती माविमा परियोजनाले आयोजना गरेको विद्यालयलाई सामग्री तथा किट्स हस्तान्तरणको उद्घाटन समारोहबाट मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन राज्यमन्त्री शारदा थापा कार्यक्रम सुरु भएको एक घन्टामै जनकपुरतर्फ लागेका हुन् । कार्यक्रम डेढ घन्टा बढी समयका लागि निर्धारित थियो ।

कार्यक्रम बीचमै छाडेर हिँडेका मन्त्रीहरू नेकपा एमालेबाट प्रदेश सरकारमा सहभागी भएका नेताहरू हुन् । प्रदेश सरकारको दोस्रो वरीयताका भौतिक पूर्वाधार विकास मन्त्री सरोज नेकपा एमाले संसदीय दलका नेता समेत हुन् ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग पनि सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निम्त्याइएको कार्यक्रमको सूचीमा उल्लेख छ ।

मन्त्रीहरूले अचानक निकै हतारका कार्यक्रम छाडेर हिँडेपछि सहभागीहरूले आश्चर्य व्यक्त गरेका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्री यादवले जसपा नेपालको विभाजनपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा आकस्मिक बैठकमा सहभागी हुनुपर्ने भएकाले आफूसहितका मन्त्रीलाई कार्यक्रमबाट जनकपुरतर्फ आउनु परिरहेको बताए ।

चाइना एडको सहयोगमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत महामारी रोकथाम तथा हरित पुनःस्थापनाका लागि दुर्गम क्षेत्रका विद्यालय र समुदायलाई सहयोग परियोजनाको एक कार्यक्रमका सहभागीहरू । तस्बिर : टोलपडोस

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH