सरोज सरकार सङ्कटमा, सरकारबाट बाहिरिँदै एमाले र माओवादी

२०८१ बैशाख २७, बिहीबार १३:५०

नयाँ सरकारको मुखिया खोज्दै दलहरू

मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साह र नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव ।

टोलपडोस समाचारदाता
जनकपुरधाम, २७ वैशाख ।
मधेश प्रदेश सरकारमा सम्मिलित नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । ती दुवै सत्तारुढ दल जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर माओवादी सरकारबाट बाहिरिने तयारी गरेको स्रोतले जनाएको छ ।

सरोज सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा माओवादीसँग परामर्श गर्न नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव सर्लाहीको बरहथवामा आयोजित एक कार्यक्रम बीचमै छाडेर प्रादेशिक राजधानी जनकपुर आएका छन् । यता जसपा नेपाल नेतृत्वको सरकारलाई विस्थापन गर्नेगरी गृहकार्यमा जुटेका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले त्यससम्बन्धी केन्द्रीय निर्देशन पर्खेका छन् ।

स्रोतले भने प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बिहानै साहलाई एमालेसँग परामर्श गरेर सरकारबाट समर्थन फिर्ता गर्दै बाहिरिन निर्देशन दिइसकेको जानकारी दिए ।

बिहीबार अपराह्न माओवादी केन्द्रको संसदीय दलका नेता साहले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने विषयमा आफूले सञ्चारमाध्यमबाटै जानकारी प्राप्त गरेको तर त्यसबारे केन्द्रीय निर्देशन अझै नआइसकेको टोलपडोसलाई बताए ।

स्रोतका अनुसार नयाँ सरकारको स्वरूप, सरकारमा सहभागी दलको सुनिश्चितता, नेतृत्व गर्ने चक्रीय प्रणालीअनुरूप दलगत विभाजन लगायतका विषयमा प्रारम्भिक टुङ्गो लागेपछि नेकपा एमाले र माओवादी केन्द्र बिहीबार साँझसम्म नै समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने छन् ।

नयाँ सरकार गठनका विषयमा केन्द्रीय र प्रादेशिक दुवै तहमा छलफल भइरहेको जनाइएको छ । अन्य विषयमा लगभग सहमति भइसके पनि सरकारको नेतृत्व कुन पार्टीले गर्ने विषयमा मतैक्य नहुँदा सत्तारुढ दलहरूलाई समर्थन फिर्ता लिन ढिला भइरहेको स्रोतको भनाइ छ ।

मौजुदा सरकारको विघटनपछि ठूला पार्टीको नाताले नेकपा एमालेले सरकारको नेतृत्व गर्नुपर्ने माग गरेको छ भने जसपा नेतृत्वको सरकार विस्थापन गरी नयाँ सरकार बनाउन केही महिनाअघि देखि नै कसरत गरिरहेका माओवादी केन्द्रका नेता साहले आरम्भमा आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान लिएका छन् ।

पहिलोपटक सरोज सरकारको विकल्प खोजेका बेला पनि नेकपा एमालेले साथ दिने प्रतिबद्धता व्यक्त गरेकाले सोहीअनुसार यसपालि पनि आफ्नो नेतृत्वमा एमालेसहितका दलको सरकार गठन हुने कुरामा साह विश्वस्त रहेको स्रोतको दाबी छ ।

यद्यपि माओेवादी केन्द्रको संसदीय दलका नेता साहले नयाँ सरकारको नेतृत्व आलोपालोमा हुने विषयमा दलीय सहमति हुने भन्दै नेतृत्वका विषयमा समस्या नहुने बताए ।

स्रोतले नयाँ सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रका साथ जनमत पार्टी र लोसपा नेपाल समेत सामेल हुने ठोकुवा गरेको छ । उनका अनुसार जसपा नेपाल चोइटाएर बनेको जसपा समेत सरकारमा सहभागी हुनेछ । नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि जसपा नेपालका आठदेखि नौजना प्रदेशसभा सदस्य नवगठित जसपाका पक्षमा आउने र सरकारमा समावेश हुने स्रोतको भनाइ छ ।

‘प्रधानमन्त्री पुष्पकमल दाहालसँग जनमत पार्टीको कुरा भइसकेको छ । सरकारमा आउन लोसपा नेपालले समेत सहमति व्यक्त गरेको छ,’ स्रोतले भने ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH