जलेश्वरका मेयर र उपमेयर निलम्बित
२०८१ बैशाख २७, बिहीबार १४:२६
टोलपडोस समाचारदाता
काठमाडौँ, २७ वैशाख ।
महोत्तरीको जलेश्वर नगरपालिकास्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा मुद्दा दायर भएसँगै नगरप्रमुख साहसहितका सार्वजनिक पद धारण गर्ने पदाधिकारी निलम्बित भएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।
जलेश्वर नगरपालिकाबाट आर्थिक वर्ष २०७९/८० मा सञ्चालित योजनामा वास्तविक भए गरेको कामभन्दा बढी कार्य गरेको भनी नक्कली विवरण खडा गरेर भ्रष्टाचार गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगले नगर प्रमुख सोनारविरुद्ध रु पाँच लाख ८४ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
यस्तै आयोगले जलेश्वर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धीरेन्द्र झाविरुद्ध पनि समान बिगो माग दाबी गरेको छ । नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साहविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ ।
आयोगले नगरपालिकाका उपप्रमुख रौशन खातुन, सदस्य सोगरा खातुन, जलेश्वर नगरपालिका–१ का वडाध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरुद्ध पनि समान बिगो बराबरको माग दाबी गरिएको छ । आयोगले कसुरअनुसार, कारबाहीको माग दाबी गर्दै आज मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।