प्रदेश सरकार छाड्न एमाले र माओवादीलाई जनमतको आग्रह

टोलपडोस समाचारदाता
जनकपुरधाम, २७ वैशाख ।
मधेश प्रदेशसभामा जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले जसपा नेपाल नेतृत्वको प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिनुपर्ने बताएका छन् ।
बिहीबार टोलपडोससँग कुरा गर्दै यादवले सत्तारुढ दुवै दल सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएमा भ्रष्टाचार र अनियमितताविरुद्ध सकारात्मक सन्देश जाने र यसले नयाँ सरकार गठनको मार्ग प्रशस्त हुने बताए ।
उनले भने, ‘भ्रष्टाचार र अनियमिततामा चर्लुम्म डुबेको सरकार विस्थापित गरी सुशासन र समृद्धिका लागि काम गर्ने सरकार गठन गर्ने दृष्टिले अहिले उपयुक्त समय हो । त्यसैले एमाले र माओवादी तत्काल सरकारबाट फिर्ता हुनुपर्छ ।’
उनले नयाँ सरकार गठनका लागि जनमत पार्टी खुला संवाद गर्न तयार रहेको पनि जनाए । ‘हाकाकाही कमिसन लिएर योजना बेच्ने सरकारको विकल्प खोज्न हामी जुनसुकै दलसँग वार्ता गर्न तयार छौँ । सरकार छाडेपछि एमाले र माओवादीसँग पनि हामीले नयाँ सरकार गठनका विषयमा वार्ता गर्नेछौँ, ’ उनले भने ।
नेता यादवले मधेश प्रदेशमा सर्वदलीय सरकार बन्नुपर्ने आफूहरूको धारणा रहेको समेत उल्लेख गरे ।