मुख्यमन्त्री यादवलाई फुटाउन कसरत, तत्काल रोकियो एमाले र माओवादीको सरकारबाट बहिर्गमन

२०८१ बैशाख २७, बिहीबार १८:३२


टोलपडोस समाचारदाता
जनकपुरधाम, २७ वैशाख ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई जसपा नेपालबाट विभाजित जसपामा ल्याउने कसरतका कारण मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्रदेश सरकारबाट हुने अवश्यम्भावी बहिर्गमन रोकिएको छ ।

जसपाका नेता एवम् पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री बनाउने गरी विभाजित पार्टीमा भित्र्याउने प्रयास विफल भएपछि अशोक राई नेतृत्वको जसपाका नेताहरूले मुख्यमन्त्री यादवलाई विश्वासमा लिएर आफ्ना पक्षमा सनाखत गराउन लागिपरेका हुन् ।

‘काठमाडौंमै रहेका मुख्यमन्त्री यादवसँग विभिन्न च्यानलमार्फत कुरा गर्ने प्रयास भइरहेको छ । तर, अहिलेसम्म सीधा सम्पर्क भएको छैन । र, ती च्यानलबाट पनि सकारात्मक सन्देश आएका छैनन्,’ जसपाका एक नेताले आफ्नो नाउँ नछाप्ने शर्तमा बताए ।

उनका अनुसार पूर्वमुख्यमन्त्री राउतलाई आफूसहित आठजना प्रदेशसभा सदस्यलाई जसपाका पक्षमा सनाखत गराए उनकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमतिसहित पठाइएको प्रस्तावलाई राउतले अस्वीकार गरिसकेका छन् । त्यसैले सोही किसिमको प्रस्ताव मुख्यमन्त्री यादवलाई दिने प्रयास गरिँदैछ ।

मुख्यमन्त्री यादवका हकमा भने पार्टी परिवर्तित गर्दा पनि असार मसान्तसम्म सरकारको नेतृत्व गर्न दिइने र त्यसपछि चक्रीय प्रणालीका आधारमा अन्य दललाई सरकारको नेतृत्व गर्न अवसर दिनेगरी सम्मानित बहिर्गमन गराइने भनिएको छ ।

जसपा गठनको पृष्ठभूमिमा रहेका केन्द्रीय सत्ता गठबन्धनका नेताहरूले दुई थप आकर्षक प्रस्तावसमेत गरेको ती नेताको भनाइ छ । जसअनुसार आगामी चुनावमा नेकपा एमालेको टिकट वा समर्थन र उनीपछि बन्ने सरकारमा उनका पक्षधरलाई शक्तिशाली मन्त्रालयहरू दिइनेछ ।

मुख्यमन्त्री यादव विभाजित पार्टीमा आउने अपेक्षाका कारण जसपाका नेताहरूले प्रदेश सरकारमा सहभागी जसपा नेपालका एक मन्त्री भ्रष्टाचारमा संलग्न रहँदैआएको आरोप लगाए पनि मुख्यमन्त्रीमाथि आक्षेप लगाउनबाट जोगिँदै आएका छन् । दुई दिनअघि जसपा नेता प्रदीप यादवले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रदेशमा भइरहेको कथित भ्रष्टाचारमा मुख्यमन्त्री यादव निर्दोष रहेको आशयको अभिव्यक्ति दिएका थिए ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार विस्थापित गराउन हौसिएका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले आज (बिहीबार) नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने गृहकार्य गरे पनि जसपासहित बन्ने नयाँ गठबन्धनमा मुख्यमन्त्री यादव आउने भरोसामा रोकिएको स्रोतको भनाइ छ ।

सोही कारणले तत्काल सरकारबाट नबाहिरिन एमालेका प्रादेशिक नेतालाई समेत केन्द्रीय नेतृत्वले निर्देशन दिएको बुझिएको छ ।

मुख्यमन्त्री यादवनिकट एक नेताले भने पार्टी परिवर्तन गर्न मुख्यमन्त्री यादवलाई कुनै पनि प्रस्ताव कतैबाट नआएको र मुख्यमन्त्रीले कुनै पनि हालतमा पार्टी नछाड्ने बताए । ‘पार्टीका एकजना प्रदेशसभा सदस्य पनि पार्टी परिवर्तन नगरुन् भन्ने उद्देश्यले उहाँ (मुख्यमन्त्री) सबै प्रदेश सांसदका निकट सम्पर्कमा हुनुहुन्छ । उहाँ आफैँ त्यस्तो गर्ने प्रश्न नै उठ्दैन,’ उनले भने ।

मुख्यमन्त्री यादव जसपामा नजाने पक्कापक्की भएपछि मात्र एमाले र माओवादी सरकारबाट बाहिरिँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेछन् ।

मुख्यमन्त्री यादव भोलि (शुक्रबार) प्रादेशिक राजधानी जनकपुर आउने कार्यक्रम छ ।

पूर्वमुख्यमन्त्री राउतले सत्ता नै सबैथोक नभएको र आफूले पाँच वर्ष सरकारको नेतृत्व गरिसकेकाले प्रतिष्ठाका कारण पनि अन्यत्र नजाने टोलपडोसलाई बताए ।

यता अर्को एक स्रोतका अनुसार, मुख्यमन्त्री यादव नयाँ पार्टीमा आए धेरैजसो प्रदेशसभा सदस्य नआउने विश्लेषण पार्टीको एक तहमा भएको छ । केन्द्रमा पार्टी फुटाउँदा अन्तिम समयमा राजकिशोर यादवलाई छाडिएझैँ उनीनिकट अर्कै नेताको नेतृत्वमा जसपा नेपालबाट आठदेखि नौजना प्रदेशसभा सदस्य ल्याउने तयारी भइरहेको सो स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH