अध्यादेशबाट बजेट ल्याउनु गलत हुनेछ : काँग्रेस नेता निधि

२०८१ बैशाख २९, शनिबार १६:५३


टोलपडोस समाचारदाता
जनकपुरधाम, २९ वैशाख ।
नेपाली काँग्रेसका पूर्वउपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सहमत नरहेको सत्ता पक्षको अध्यादेशमार्फत बजेट ल्याउने तयारी मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताए ।

नेपाली काँग्रेस धनुषाको प्रशिक्षण विभागद्वारा आज(शनिबार) बाट आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टीका पूर्व उपसभापति निधिले भने, ‘अध्यादेशमार्फत बजेट ल्याउने हल्ला सुनिएको छ । यो मुलुकका लागि ठिक होइन ।’

उनले संसद्को गतिरोध खुलाउने दायित्व सत्तापक्षको रहेको बताए । जननिर्वाचित प्रतिनिधिसभामा काँग्रेसले संसदीय छानबिन समति गठनको माग गरिरहँदा सरकारले त्यस कुरामा साथ नदिई विवाद बढाउने काममात्र गरिरहेको नेता निधिको आरोप छ ।

सहकारी ठगी प्रकरणमा देशका गृहमन्त्रीसहित दुईतीनजना विरुद्ध चितवन, पोखरा तथा रूपन्देहीमा हजारौँ उजुरी परेको गम्भीर विषयमा संसदीय छानबिन समिति गठन गर्न नचाहनु सरकारको कमजोरी भएको उनले औंल्याए ।

नेता निधिले काँग्रेस र एमाले मिलेर जानुपर्ने पक्षमा आफू नरहेको बताउँदै दुवै ठूला दल मिल्दा पनि समस्या समाधान हुने सुनिश्चितता नरहेको प्रस्ट पारे । उनले भने, ‘समस्या समाधान गर्न दृढ इच्छाशक्ति चाहिन्छ ।’

संघीय लोकतान्त्रिक व्यवस्थाको पूर्णताका लागि संविधान संशोधन आवश्यक भएको औंल्याउँदै नेता निधिले त्यसका लागि दलहरूका बीचमा अधिकतम सहकार्य जरुरी रहेको बताए ।

कुनै एक दलको बहुमत नआउनुमा समानुपातिक निर्वाचन प्रणाली बाधक नभएको भन्दै उनले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रदेशलाई बलियो बनाउन प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्न नहुने बताउँदै उनले संविधानमा समायोजन नभएर प्रत्येक प्रदेशमा प्रहरी संगठन हुने उल्लेख भएको स्मरण गराए ।

नेपाली काँग्रेस धनुषाका उपसभापति एवम् प्रशिक्षण विभागकां प्रमुख गणेश झाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, मिनाक्षी झा, नेता रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जियारले प्रशिक्षण कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH