रौतहटमा म्याद गुज्रिएका खाद्यवस्तु खान बाध्य छन् उपभोक्ता

२०८१ बैशाख ३०, आईतवार ०९:३९

रौतहट, ३० वैशाख (न्युज कारखाना) । रौतहटका बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण तीव्र रूपमा बढेको पाइएको छ । तर, नियमनकारी निकायहरूले यहाँका बजार अनुगमन गरेका छैनन् ।

सोही कारणले उपभोक्ताहरू मारमा परेका छन् । स्थानीय पालिकाहरूले समेत बजार अनुगमनमा चासो नदिएका कारण उपभोक्ताहरु म्याद गुज्रिएका खाद्यवस्तु खरिद गर्न बाध्य भएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र चन्द्रनिगाहपुरका होटलहरूमा समेत अनुगमन नभएका कारण उपभोक्तालाई गुणस्तरहीन खाना खान बाध्य हुनुपरेको गुनासो आइरहेको छ ।

पहिला पहिला चन्द्रपुर नगरपालिकाले एक वर्षमा एक दुईपटक बजार अनुगमन गर्ने गरेको भए पनि पछिल्लो समय आएर बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी बढेको स्थानीय बासिन्दा प्रह्लाद गौतमको भनाइ छ ।

जिल्लाका चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया लगायतका स्थानमा बजार अनुगमन नभएका कारण व्यापारीको मनोमानी बढ्दै गएको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् । स्थानीय पालिकाहरू र जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेलामा मात्र बजार अनुगमन गरेजस्तो गरेको र अन्य बेला कानमा तेल हालेर बसेका कारण उपभोक्ताहरु ठगिन बाध्य छन् ।

खाद्यान्न पसल कोल्ड स्टोर्स, होटल, तथा किराना पसलहरू अनुगमन नभएका कारण उनीहरूको मनोमानी बढ्दै जाँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेको चन्द्रनिगाहपुरका बासिन्दा तथा नेपाली काँग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरीको भनाइ छ ।

जनतासँग प्रत्यक्ष सरोकार भएका चन्द्रपुर नगरक्षेत्रका अस्पताल मेडिकल तथा क्लिनिकहरू समेत नगरपालिकाले नियमित अनुगमन नगरेका कारण उनीहरूले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिरहेको गिरीले बताए । चन्द्रपुर नगरक्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकहरूमा उपचार गर्न आउनेहरूले ज्यान गुमाउँदै आएको भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको गिरीको कथन छ ।

रौतहट जिल्लाकै पालिकाहरूले बजार अनुगमनतर्फ ध्यान नदिएका कारण उपभोक्ताले गुणस्तरहीन खाद्यवस्तुको प्रयोग गर्न बाध्य भइरहेको गुनासो आउँदा पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको कटहरियाका सञ्चारकर्मी आरके श्रीवास्तवले बताए ।

जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्दै आएकोमा पछिल्लो समय त्यसको सम्पूर्ण स्वामित्व पालिकाहरूलाई गएको भए पनि पालिकाहरूले बजार अनुगमन गर्नेतर्फ ध्यान नदिएका कारण उपभोक्ताहरुले त्यसको मार खेप्न बाध्य भएका छन् ।

जिल्लाका प्रमुख व्यापारिक बजारहरूमा नियमित रूपमा बजार अनुगमन हुनुपर्नेमा पालिकाहरूले बजार अनुगमन गर्नेतर्फ ध्यान नदिएका कारण समस्या उत्पन्न भएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेले बताए ।

 

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH