मधेश प्रदेश सरकारबाट आज बाहिरिँदै माओवादी !

२०८१ बैशाख ३०, आईतवार ११:२८


टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० वैशाख ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री छन् ।

सरकारबाट बाहिरिएलगत्तै सो पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउने तयारी गरेको छ ।

पार्टीको संसदीय दलका नेता भरप्रसाद साहलाई मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको कार्यभार सुम्पे पनि उनले सम्हालेका छैनन् भने पार्टीका अर्का प्रदेशसभा सदस्य युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री छन् ।

स्रोतका अनुसार माओवादीका दुवै मन्त्री आजै मुख्यमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनेछन् । त्यसलगत्तै सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखलाई बुझाइनेछ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा केन्द्रीय निर्देशन पर्खेर बसेको बताए ।

सत्तारुढ दल सरकारबाट बाहिरिएलगत्तै मुख्यमन्त्री यादवलाई ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

स्रोतले माओवादीले आगामी बजेटलाई दृष्टिगत गरी आज नै समर्थन फिर्ता लिने तयारी गरेको बताए । आज समर्थन फिर्ता भएपछि आगामी ३० दिनभित्र मुख्यमन्त्री यादवले विश्वासको मत लिए मात्र असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन पाउनेछन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH