बस्ने बस्ने भन्दै मधेश प्रदेश सरकारबाट निस्किँदै एमाले पनि

२०८१ बैशाख ३०, आईतवार १५:२०
मधेश प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, नेकपा माओवादी केन्द्रका नेता भरतप्रसाद साह र नेकपा एमालेका स्थानीय नेता शम्भू साह । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० वैशाख ।
‘परिस्थिति परिपक्व भएको छैन, सरकार छाड्ने निर्णय आलोकाँचो हुन्छ,’ आइतबार बिहान मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता एवम् प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले भने । जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने समाचार टोलपडोसले सार्वजनिक गरेपछि एमाले नेता नेता सरोजको प्रतिक्रिया थियो ।

एमाले जिम्मेवार पार्टी रहेको र परिस्थितिलाई सुक्ष्मतापूर्वक अध्ययन गरेपछि मात्र सरकारका विषयमा निर्णय लिने एमाले नेता सरोजले बताएका थिए । तर, केही घन्टा नबित्दै नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिने निचोडमा पुगेको छ ।

‘नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिँदै छ,’ नेकपा एमालेका केन्द्रीय सदस्य सञ्जीवकुमार झाले भने । उनले प्रदेशसभाका सबैभन्दा ठूला दल नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्नेगरी पार्टी जसपा नेपालको नेतृत्वबाट बाहिरिने निर्णय गरेको जानकारी दिए ।

पार्टीका केन्द्रीय नेतृत्वको निर्देशनपछि आइतबार बिहानैबाट नेकपा माओवादी केन्द्रले सरोज सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी सरकारबाट बाहिरिने तयारी गरेको थियो । तर, माओवादीको त्यस निर्णयप्रति नेकपा एमाले सहमत थिएन । आज अपराह्न केन्द्रीय नेतृत्वको निर्देशनपछि एमाले प्रदेश सरकामरबाट बाहिरिन थालेको हो ।

हिजोमात्र नेकपा एमालेका स्थानीय नेता शम्भू साहले पार्टी संसदीय दलका नेता यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहसँगको एउटा तस्बिर सार्वजनिक गर्दै जसपा नेपाल मधेश प्रदेशको शकुनि भएको र प्रदेशलाई बिगारेर त्यसबाट फाइदा लुट्ने उसको सात वर्षदेखिको चरित्र रहेको टिप्पणी गरेका थिए । उनले जसपा नेपालको सोही चरित्र अझै अधावधिक रहेको उल्लेख गरेका थिए ।

उनले त्यस प्रवृत्तिको अन्त्य नहुन्जेसम्म मधेश प्रदेशको राजनीतिक कोर्स करेक्सन नहुने दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH