मधेश प्रदेश : माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० वैशाख ।
मधेश प्रदेश सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी संसदीय दलको कार्यालयले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेकपा माओवादी केन्द्रको समर्थन रहेकोमा आजकै मितिबाट समर्थन फिर्ता लिइएको उल्लेख छ ।
यसअघि मधेश प्रदेश सरकारमा सहभागी पार्टीका बिनाविभागीय मन्त्री एवम् संसदीय दलका नेता भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आजै राजीनामा दिएका थिए ।
सत्तारुढ दलका दुई मन्त्रीको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री यादवलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।