मधेश प्रदेश : मन्त्री जायसवाल बाटामा हुँदा एमाले मन्त्रीका राजीनामा आउन ढिलाइ

२०८१ बैशाख ३०, आईतवार १७:४२
नेकपा एमालेका केन्द्रीय सदस्य सञ्जीवकुमार झासँग मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री प्रमोदकुमार जायसवाल(बीचभागका कुर्सीमा दायाँ) । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० वैशाख ।
शिक्षा तथा सँस्कृति मन्त्री प्रमोदकुमार जायसवाल प्रादेशिक राजधानी जनकपुर बाहिर रहेकाले मधेश प्रदेश सरकारबाट नेकपा एमालेले बाहिरिन ढिला भइरहेको छ । मन्त्री जायसाल प्रदेशको पश्चिमी क्षेत्रबाट जनकपुरका लागि प्रस्थान गरिसकेका छन् । ‘मन्त्रीजी, निजगढ पार गरिसक्नुभएको छ, अबको केही बेरमा जनकपुर आउनेबित्तिकै मुख्यमन्त्रीलाई राजीनामा पठाइनेछ,’ पार्टीका एक नेताले भने ।

प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो ।

जसपा नेपालको विभाजनपछि उत्पन्न परिस्थितिका बीच जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारबाट सत्तारुढ दल नेकपा एमाले बाहिरिन लागेको हो । यसअघि अर्का सत्तारुढ दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा चार मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

एमालेका तर्फबाट सरकारमा सहभागी प्रदेश सरकारको दोस्रो वरीयतामा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिँह कोइरी, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, शिक्षा तथा सँस्कृति मन्त्री प्रमोदकुमार जायसवाल, स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन राज्यमन्त्री शारदा थापाले आज राजीनामा दिने तयारी गरेका हुन् ।

मन्त्रीहरूको राजीनामालगत्तै सरकारलाई दिएको समर्थन फिर्ता हुने नेकपा एमाले संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकास मन्त्री सरोजले बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH