लोसपा नेपाल काँग्रेससँगैको गठबन्धनमा छ : वरिष्ठ सहअध्यक्ष शुक्ल

२०८१ बैशाख ३१, सोमबार ०७:४२


टोलपडोस समाचारदाता
जनकपुरधाम, ३१ वैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ सअहध्यक्ष सर्वेन्द्रनाथ शुक्लले पार्टी काँग्रेससहितको दलीय गठबन्धनमा रहेको बताएका छन् । उनले विगतको चुनावदेखि नै काँग्रेससहितको गठबन्धनमा पार्टी रहँदैआएको र कित्ता परिवर्तनका लागि पार्टीले कुनै पनि निर्णय नगरेको स्पस्ट पारे ।

उनले अध्यक्ष महन्थ ठाकुरलाई उद्धृत गर्दै पार्टीका देश र मधेश प्रदेशमा विकसित घटनाक्रमलाई आफूहरूले नजिकबाट नियालिरहेको र सम्पूर्ण परिस्थितिलाई लिएर पार्टी केन्द्रीय समिति बैठकबाट धारणा बनाउने जानकारी दिए ।

सोमबार बिहान टोलपडोससँग कुरा गर्दै उनले लोसपा नेपालका मधेश प्रदेशसभा सदस्य रानी शर्मासहितको एक तस्बिरबाट लोसपा नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग मधेश प्रदेशमा सहकार्य गर्ने सन्देश प्रवाहित भए पनि त्यससम्बन्धी पार्टीले आधिकारिक निर्णय भइनसकेको बताए ।

उनले भने, ‘गठबन्धन तत्काल परिवर्तन हुने सम्भावना म देख्दिनँ ।’

यसअघि हिजो आइतबार पार्टीका महासचिव मनिष मिश्रले मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा गएको र मुख्यमन्त्रीले विश्वासको मत लिने वा राजीनामा दिने लगायत कानुनी प्रक्रिया बाँकी नै रहेकाले आजै आगामी सरकारका निम्ति गठबन्धन बनाइहाल्नुपर्ने बाध्यता नरहेकाले हालका लागि कुनै गठबन्धन वा दलसँग लोसपा नेपालको आधिकारिक सहमति वा सहकार्य नभएको जनाएका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH